३१ दिन खाली खुट्टा हिँडेर नवराज बोहरा सुर्खेतबाट काठमाडौं आइपुगे। जेठ ४ गते सुर्खेतबाट हिँडेका नवराजले महेन्द्र राजमार्गको ६ सय किलोमिटर छिचोलेर असार ४ गते काठमाडौं टेके। कर्णालीका तमाम समस्याको पोको बोकेर काठमाडौं आएका उनले सोचेका थिए, देशका कार्यकारी प्रधानमन्त्री केपी शर्मा ओली भेटुँला, कर्णालीका दु:खबारे सुनाउँला र एकछिन सुस्केरा फेरूँला। तर, अफसोस्; उनले प्रधानमन्त्री ओलीलाई भेट्नै पाएनन्।
काठमाडौं आइपुग्दासम्म प्रधानमन्त्री ओलीले नवराजलाई भेट्दिनँ भनेका थिएनन्। कलङ्कीबाट सिधै सिंहदरबार तेर्सिएका उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नै छिरेका पनि हुन्। प्रधानमन्त्री ओलीलाई नपर्खेका पनि होइनन् तर, अन्तिममा भेट्नै पाएनन्। प्रधानमन्त्री ओलीको सचिवालय कक्षसम्म पुगेका उनले प्रधानमन्त्री नभेटिकनै फर्किनुपर्यो। उनले प्रधानमन्त्री ओलीको समय पर्खिरहे तर, अन्तिममा भनियो— प्रधानमन्त्रीज्यू त बाहिरिसक्नुभयो।

अब बल्ल नवराजलाई थाहा भयो, अब भेट नहुने भयो। यसमा उनी स्वयम् प्रधानमन्त्री ओलीको कमजोरी औँल्याउँदैनन्। उनलाई लागेको छ, प्रधानमन्त्री ओलीकै वरिपरि रहेका मान्छेहरूले आफूलाई भेटाइदिएनन्। उनी भन्छन्, ‘मलाई भेट्ने र नभेटाउने समूह रहेछ त्यहाँ। हाम्रै क्षेत्रका नेताहरूले भेट्न दिएनन्। एमालेकै मान्छेहरूले भेट्न दिएनन्।’
प्रधानमन्त्री ओलीसँग भेट नभए पनि प्रधानमन्त्री ओलीले नै पठाएको भनी उनलाई एक जोर गोल्डस्टार जुता दिइयो। जुन जुत्ता उनैले रोजेका थिए। ‘राति ९/१० बजेसम्म पनि जुत्ताको साइज मैले नै भनेको थिएँ। गोल्डस्टार नेपाली ब्रान्ड भएकाले त्यो रोजेको थिएँ, साइज पनि मैले नै भनेको थिएँ। तर, भेटचाहिँ भएन,’ उनी भन्छन्।

नवराज प्रधानमन्त्री ओलीलाई भेटेरै छाड्ने बताउँछन्। असार ४ गत भेट्न नपाए पनि आफू सौहार्दपूर्ण रूपमै प्रस्तुत भइरहेको बताउँदै उनी भन्छन्, ‘अहिले पनि मैले केही भनेको, गरेको छैन। अझै भेट्न सक्छु नि। कर्णालीले जुन आशा गरेको छ, मैले त भेट्नुपर्यो नि। यतिकै बसिरहेको छु, म माइतीघर जान्नँ, कालोपट्टी लगाउँदिनँ। म पर्खिरहेको छु। प्रधानमन्त्री फोन कुरिरहेको छु। कर्णालीका १५ लाख जनताको कुरा हो।’
उसो त नवराजलाई नभेटेपछि प्रधानमन्त्री ओलीको आलोचनासमेत भएको छ। भ्रष्टाचार, अनियमितताविरुद्ध वर्षौँदेखि विभिन्न अभियानहरू सञ्चालन गर्दै आएर समग्र समाजको विकासका लागि लडिरहेका नवराजलाई नभेट्दा प्रधानमन्त्री ओलीका प्रति खासगरी सामाजिक सञ्जालहरूमा आलोचना हुने गरेको छ।

त्यसो त प्रधानमन्त्री ओलीले यसअघि टिकटकरद्वय अंशुवर्मा र मिस पविलाई भटेका थिए। गत वर्षको माघ २४ अंशुवर्मा र मिस पविलाई भेटेका प्रधानमन्त्री ओलीले कन्टेन्ट क्रियटर भन्दै उनीहरूको प्रशंसासमेत गरेका थिए। तर, अहिले आएर नवराजलाई नभेट्दा प्रधानमन्त्री ओली त्यही कुराका कारण दपेटिएका छन्।
प्रकाशित: ६ असार २०८२ २१:२९ शुक्रबार