इरान र इजरायलबीचको द्वन्द्व चर्किएपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकारले मध्यपूर्वमा रहेका आफ्ना नागरिकको सुरक्षा र सम्भावित उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन गरेको छ।
परराष्ट्र मन्त्रालयमा शुक्रबार बसेको चार मन्त्रालयको संयुक्त बैठकले २४ घण्टा क्रियाशील रहने गरी एक विशेष ‘उद्धार युनिट’ स्थापना गर्ने निर्णय गरेको हो।
बैठकले स्वदेश फर्कन चाहने नेपाली नागरिकहरूलाई परराष्ट्र मन्त्रालयले तयार पारेको अनलाइन पोर्टलमा आफ्नो विवरण दर्ता गर्न आग्रह गरेको छ।
परराष्ट्र मन्त्रालयको नेतृत्वमा रहने उक्त उद्धार युनिटमा गृह, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीहरू पनि रहनेछन्। उनीहरुले आवश्यक समन्वय र उद्धारको रणनीति तयार पार्नेछन्।
परराष्ट्र मन्त्रालयमा भएको बैठकमा श्रम मन्त्री शरदसिंह भण्डारीसहित गृह, श्रम र पर्यटन मन्त्रालयका सचिवहरू सहभागी थिए।
बैठकमा सहभागीहरूले युद्ध सुरु भएदेखि नै सरकारले स्थितिलाई गम्भीर रूपमा नियालिरहेको र आवश्यक परेमा नागरिकलाई कसरी सुरक्षित रूपमा स्वदेश फिर्ता ल्याउने भन्ने विषयमा विस्तृत छलफल भएको बताएका थिए।
प्रकाशित: ६ असार २०८२ १६:१५ शुक्रबार