नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले राप्ति राजमार्ग सरकारको प्राथमिकतामा कहिल्यै नपरेको बताएका छन्। शुक्रबार (आज) संसद्मा जारी मन्त्रालयगत छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्।
'भौतिक पूर्वाधार मन्त्रालय हो कि भौतिक पूर्वाग्रह मन्त्रालय हो भन्ने कुरामै कन्फ्यूजन छ। राप्ति राजमार्ग, जुनचाहिँ राष्ट्रिय राजमार्ग मात्रै होइन, दुईवटा जिल्लाको सदरमुकाम जोड्ने, त्यहाँका फलफूल तथा उत्पादनहरू बजारसम्म पुर्याउने र सङ्घीय राजधानी जोड्ने यो राजमार्ग कहिल्यै सरकारको प्राथमिकतामा परेन। यसपटक मात्रै ३ वटा जिल्लाको निम्ति २९ करोड विनियोजन गरिएको छ, त्यो पनि वैदेशिक ऋणको भार नै बढी छ,' उनले भने।
उनले तत्कालीन भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले पनि राप्ति राजमार्गका प्रति पूर्वाग्रह नै राखेको बताए। 'अझ २०८०/८१ को कुरा र्ने हो भने त्यतिबेला १ अर्ब १० करोडको श्रोत सुनिश्चितता भएको थियो। त्यतिबेला मन्त्री रघुवीर महासेठले यति पूर्वाग्रह राख्नुभयो, त्यो सम्पूर्ण बजेटको टेन्डर गरियो तर, त्यही राप्ति राजमार्गको मात्रै टेन्डर गरिएन।त्यसमा अत्यन्तै ठूलो गद्दारी गरियो,' उनले भने।
ज्वालाले यसपटकको बजेट मन्त्रीमुखी, नेतामुखी र निर्वाचन क्षेत्रमुखी भएको आरोप पनि लगाएका छन्।
प्रकाशित: ६ असार २०८२ १५:२५ शुक्रबार