१२ माघ २०८२ सोमबार
image/svg+xml
राजनीति

मोरङमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोरङको कानेपोखरी र रंगेलीको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका– ७ डाँस खोला पुलको डाइभर्सनमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवलदार ३१ वर्षीय जितेन्द्र चौधरीको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।

शनिबार राति ८ बजे प्र १–०२–०४३ प २४७१ नम्बरको मोटरसाइकलमा छोरा र श्रीमतीसहित चौधरी पथरीबाट कानेपोखरीतर्फ आउँदै गर्दा डाइभर्सनमा अनियन्त्रित भई मोटरसाइकल दुर्घटना भएको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी मोहनबिक्रम दाहालले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते चौधरीको उर्लाबारीस्थित मंगलबारमा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

बेलबारी नगरपालिका– ४ घर भएका चौधरी प्रहरी चौकी जमुना इलाममा कार्यरत थिए। दुर्घटनामा उनकी श्रीमती प्रहरी चौकी जमुना इलाममै कार्यरत २६ वर्षीया प्रहरी जवान विमला धिमाल चौधरी र दुई वर्षीय छोरा जेशन चौधरी गम्भीर घाइते छन्। उनीहरुलाई उपचारका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेज भर्ना गरिएको छ।

त्यस्तै, हुलाकी राजमार्गअन्तर्गत रंगेली नगरपालिका– ७ संसारीमाई मन्दिर नजिकै विराटनगरबाट आमबारीतर्फ जाँदै गरेको बोइलर कुखुराको दाना बोकेको को २ च १३०० नम्बरको पिकअप दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।

सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा पिकअप चालक विराटनगर– ८ का ४५ वर्षीय चेतराज खनालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

पिकअपमा सवार सोही स्थानका २३ वर्षीय राम राजवंशी, २१ वर्षीय छत्र पराजुली, ३२ वर्षीय दीपेश पौडेलको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १ असार २०८२ ११:५४ आइतबार

#Durghatna #NagarikNews