जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले नेकपा (एमाले)मा पार्टी अध्यक्षको विकल्प खोज्न केपी शर्मा ओलीले मात्र सक्ने बताएका छन्। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीलाई चुनौती दिने भनि गरिएको प्रचारबाजी हास्यास्पद भएको तर्क गरेका छन्।
बस्नेतले भनेका छन्, 'नेकपा (एमाले)का अध्यक्ष ओलीले आफ्नो लोकप्रियताको ग्राफ चेक गरेका छन्। पछिल्लो समय पार्टीभित्र र सिंगो मुलुकमै आफ्नो नेगेटिभ क्रेजप्रति उनी राम्रोसँग जानकार छन्। यस अर्थमा उनले वर्तमान अवस्थामा आफ्नो विकल्प खोज्नुपर्ने हो कि भन्ने अवस्थामा पुगेको र सबैभन्दा उपयुक्त पात्रका रूपमा पूर्वराष्ट्रपति भण्डारीलाई रोजेको देखिन्छ।'
'तर यही कुरा उनले बडो चलाखीपूर्ण र घुमाउरो तरिकाले पूरा गर्न खोज्दै छन्। कपितयले विद्या भण्डारीले एमालेका अध्यक्ष ओलीलाई चुनौती दिन खोजेको रूपमा अर्थ्याएका छन् भने स्वयं भण्डारी र ओलीका कतिपय अभिव्यक्तिले पनि त्यसलाई पुष्टि गर्न खोजेको भान हुन्छ। तर यथार्थ त्यसो हैन,' उनले भनेका छन्, 'नेकपा एमालेमा अध्यक्ष केपी ओलीको विकल्प स्वयं केपी ओलीले मात्र खोज्न सक्छन्। विद्या भण्डारीले केपी ओलीलाई चुनौती दिन लागेको भन्ने नाटक, रोइलो र मिडियाबाजी कम हास्यास्पद छैन।'
प्रकाशित: २९ जेष्ठ २०८२ ०७:५६ बिहीबार





