२६ माघ २०८२ सोमबार
image/svg+xml
राजनीति

औँला ठड्याएर नाराबाजी गरिरहेका सांसदहरूलाई सभामुखले भने- संसद्लाई प्राणहीन नबनाउनुस्

सभामुख देवराज घिमिरेले सांसदहरूदलाई संसद् प्राणहीन नबनाउन आग्रह गरेका छन्। बुधबार (आज) बसेको संसद् बैठकमा पनि औँला ठड्याएर नाराबाजीमा उत्रिएका सांसदहरूले सभामुख घिमिरेले यस्तो आग्रह गरेका हुन्।

बैठक सुरु हुनासाथ नाराबाजीमा उत्रिएका प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्र, रास्वपा, राप्रपा र एकीकृत समाजवादीका सांसदहरूले उनले यस्तो भनेका हुन्।

'सदन दुई हप्तादेखि अवरुद्ध छ। सदन देशका समस्याहरूको विषयमा छलफल गर्ने सर्वोच्च निकाय हो भन्ने कुरा भुल्नु हुँदैन। छलफल गर्नका लागि वातावरण बनाउनुपर्छ र त्यो वातावरण बनाउनका लागि बोलिरहनुभएका माननीय सदस्यज्यूहरू आसन ग्रहण गरौँ। म दलीय आधारबाट समय दिन्छु। हामीले विषयअनुरूप छलफल गर्दै जाने वातावरण बनाउनुपर्छ। नत्र सभा सञ्चालन हुन सक्दैन। सभा सञ्चालन नभएमा संसद्ले गर्ने काम गर्न सक्दैन र संसद् प्राणहीन बनाउने कामहरू नगरौँ। त्यसका लागि म अनुरोध गर्दछु,' उनले भने।

सभामुख घिमिरेले राख्नुपर्ने विषयहरू दलीय आधारमै राख्नुपर्ने बताउँदै आएका छन्। उनले अगाडि भने, 'वातावरण बनाएर कार्यसूचीअन्तर्गत गएर छलफल गर्नुपर्ने हो। त्यसमा प्रतिपक्षले राख्ने, सत्तापक्षले राख्ने र सम्पूर्ण सांसदहरूले राख्ने हो। यो वातावरण बनाउनका लागि माननीय सदस्यज्यूहरू आसन ग्रहण गर्नुस्। दलीय आधारबाट कुरा राखिसकेपछि हामी नियमित कार्यसूचीमा जानेछौँ। त्यसैले अब त्यो दिशामा जानका लागि माननीयलाई आ-आफ्नो ठाउँमा आसन ग्रहण गर्नका लागि आग्रह गर्दछु।'

तर, सांसदहरू बसेनन्, बरु उनीहरूले उल्टै नाराबाजीको स्वर बढाए। यसपछि आजको बैठक स्थगित भयो। बैठक पुन: बिहीबार अर्थात् भोलि दिउँसो ३ बजे बस्नेछ। प्रतिपक्ष दलहरूले जेठ १४ यता सदन अवरुद्ध गर्दै आएका छन्।

यो पनि पढ्नुहोस्

प्रतिपक्षको अवरोध कायमै रहेपछि भोलिसम्मका लागि संसद् स्थगित

प्रकाशित: २८ जेष्ठ २०८२ १६:४४ बुधबार

#devrajghimire #Parliament Assambly #Nagariknews