नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले कम्युनिष्ट पार्टीहरूमा पछिल्लो समय देखिएको सैद्धान्तिक विचलनका कारण राष्ट्रिय राजनीतिमा विभिन्न संकटहरू उत्पन्न भएको औंल्याएका छन्।
उनले विगतका अनुभवबाट सिक्दै गल्ती तथा कमजोरीहरूलाई सच्याएर राष्ट्र निर्माणको अभियानमा लाग्न सम्पूर्ण कम्युनिष्ट शक्तिहरूलाई आह्वान गरे।
पार्टीको काठमाडौं निर्वाचन क्षेत्र नं-८ कमिटीले शनिबार आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले देश र जनताका पक्षमा क्रियाशील कम्युनिष्ट आन्दोलनले आत्मसमीक्षा गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।
‘सिद्धान्त, नीति तथा कार्यक्रमको आधारमा वामपन्थी शक्तिहरू एकताबद्ध हुनु आजको आवश्यकता हो,’ उनले भने, ‘हाम्रो पार्टीले नेपाली मौलिकता र विशेषतालाई दृष्टिगत गरी ल्याएका नीति तथा कार्यक्रमहरू देश र जनताको पक्षमा छन्।’
पूर्वप्रधानमन्त्री खनालले आर्थिक र सामाजिक विकासको आधारमा समानता, सामाजिक निष्पक्षता एवं न्याय सुनिश्चित गर्न आवश्यक संस्थाहरूको विकास र सुदृढीकरण गर्नुपर्ने आवश्यकता औंल्याए।
उनले पार्टीको साङ्गठनिक विचार, सिद्धान्त र लक्ष्यलाई जनतासमक्ष प्रस्ट रूपमा लैजान र साङ्गठनिक हितका लागि प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्न नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिए।
प्रकाशित: १० जेष्ठ २०८२ १९:५० शनिबार