तत्कालीन सशस्त्र विद्रोही नेकपा माओवादी जंगल पस्दा सार्वजनिक रूपमा सबैभन्दा बढी चिनिएका नेता-पात्र थिए–डा. बाबुराम भट्टराई। भट्टराईले नै २०५२ माघ २२ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ४० सूत्रीय माग पत्र बुझाएका थिए। सोही माग पत्रमा टेकेर माओवादीले ०५२ फागुन १ गतेबाट सशस्त्र संघर्ष सुरु गरेको थियो। त्यसपछि चलेको १० वर्षे द्वन्द्वका अनेक कथा छन्।
त्यो १० वर्षे माओवादी सशस्त्र संघर्षको घोषित नेतृत्व भने पुष्पकमल दाहाल उर्फ ‘प्रचण्ड’को नाममा छ। जुन त्यो बेला ‘भूमिगत’(सार्वजनिक नभएको) थिए। धेरैले दाहाललाई चिनेकै थिएनन्। त्यसैले माओवादीको ‘नेता’ बाबुरामलाई नै मान्दथे।
यो बाहिरी दुनियाँको कुरा भयो। पार्टीको आन्तरिक जीवनमा सुप्रिम कमान्डर दाहाल भनिए पनि बाबुराम र मोहन वैद्य ‘किरण’ पनि दाहालकै समकक्षी नेता थिए। यी तीन नेताको गठजोडमा घटेका ‘लभ–हेट’का अनेक कथा माओवादी वृत्तमा सुनिन्छन्।
सशस्त्र संघर्षका बेला दाहालले वैद्य भन्दा बढी बाबुरामसँगै राजनीतिक संगत गरे। कुनै बेला बाबुरामलाई कारबाही पनि गरे। पछि फेरी मिले। २०६२/६३ को परिवर्तनपछि दुवै जना सँगै भूमिगत जीवन त्यागेर सार्वजनिक पनि भए।
माओवादी ‘रातो स्टिकर टाँसेको घर’ भन्दै ०७२ असोज ९ गते बाबुराम बाहिरिएका थिए। त्यसपछि वैकल्पिक शक्तिको वकालतमा निस्केका उनले ०७३ मा नयाँ शक्ति पार्टी गठन गरेका थिए।
२०६४ को संविधानसभा निर्वाचनपछि दाहालको नेतृत्वमा बनेको पहिलो सरकारमा दुवै जना सँगै सरकारमा पनि बसे। बाबुराम त्यो बेला दाहाल सरकारको अर्थमन्त्री थिए।
त्यसपछि भने दुवै जनाको मिल्ती हुनसक्ने स्थिति घट्दै गयो। यद्यपि २०६८ मा माओवादीबाटै बाबुराम प्रधानमन्त्री बनेका थिए।
२०७२ असोज ३ गते नयाँ संविधान जारी भएपछि भने दाहालसँग बाबुराम औपचारिक रूपमै फरक बाटोमा निस्किए। माओवादी ‘रातो स्टिकर टाँसेको घर’ भन्दै ०७२ असोज ९ गते बाबुराम बाहिरिएका थिए। त्यसपछि वैकल्पिक शक्तिको वकालतमा निस्केका उनले ०७३ मा नयाँ शक्ति पार्टी गठन गरेका थिए।
त्यसपछि बाबुरामको यात्रा अशोक राईदेखि उपेन्द्र यादवसँग जोडियो। असफल भयो।
०७९ को निर्वाचनअघि भने फेरी दाहाल र बाबुराम मिलनको संघारमा पुगेका थिए। बाबुरामले मिल्नकै लागि गोरखाको आफ्नो सुरक्षित निर्वाचन क्षेत्र दाहाललाई सुम्पिए। दाहाल निर्वाचित भए। त्यही जितले तेस्रो पटक प्रधानमन्त्री पनि भए।
त्यहाँसम्म ठिक थियो। चुनाव सकिएपछि भने फेरी बाबुराम र दाहालबिचको दुरी बढ्दै गएको घटनाक्रमले देखाएका थिए। दुवै बिचको सम्बन्ध कतिसम्म तिक्त भएको छ भन्ने कुरा बिहीबारको एक कार्यक्रममा दाहालबाटै छचल्किएको छ।
प्रसंग रुकुम पूर्वको एक कार्यक्रमको हो। माओवादी केन्द्रको मध्य पहाडी लोक मार्ग केन्द्रित अभियानका क्रममा दाहाल बिहीबार रुकुम पूर्व पुगेका थिए। जहाँ पछिल्लो समय बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)मा रहेका माओवादी सेनाका पूर्व कमान्डर जितमान पुनलगायतका नेताहरू माओवादी प्रवेश गरेका थिए।
अहिले बाबुराम खिइँदै खिइँदै पूरै प्रतिक्रियावादीसँग गएर मिलिसकेको पनि दाहालले भन्न भ्याए। ‘प्रतिक्रियावादीले नै पत्याउँदैन आजकल । हाँसोको पात्र भएका छन् बाबुराम के देशभरि कस्तो बुद्धि नभएको डाक्टर। सबभन्दा बुद्धि नभएको डाक्टर भनेर चिन्छन् मान्छेले,’ दाहालले भने।
सोही कार्यक्रममा दाहाल बाबुराममाथि खनिए। नेताकार्यकर्ताले उठाएको माओवादी धार सबैसँग एकता हुनुपर्ने कुरामा प्रतिक्रिया दिँदै दाहालले बाबुरामसँग एकता सम्भव नभएको आशयसहित बोलेका थिए।
‘बाबुरामसँग हामीले एकता गर्ने भनेकै हो नि ! गोर्खामा चुनाव लड्दा हाम्रो नारायणकाजी कमरेड, म, बाबुरामले ल है अब चाहिँ यो चुनाव मात्रै होइन अब पार्टी पनि एउटै बनाउने भनिएको थियो,’ दाहालले भनेका छन्,‘तर उहाँले पछि कम्युनिस्टको नाम सुन्न चाहनुहुन्न । कम्युनिस्ट पार्टी नाम राख्ने हो भने म त एकता गर्दिनँ भनेपछि अब हामी के मर्ने बाबुरामको लागि ? कम्युनिस्ट पार्टी नभन्ने, मार्क्सवाद नभन्ने रे । अनि त्यस्तोसँग के गरी एकता गर्ने ?’
अहिले बाबुराम खिइँदै खिइँदै पूरै प्रतिक्रियावादीसँग गएर मिलिसकेको पनि दाहालले भन्न भ्याए। ‘प्रतिक्रियावादीले नै पत्याउँदैन आजकल । हाँसोको पात्र भएका छन् बाबुराम के देशभरि कस्तो बुद्धि नभएको डाक्टर। सबभन्दा बुद्धि नभएको डाक्टर भनेर चिन्छन् मान्छेले,’ दाहालले भने।
‘त्यस्तासँग के गरी एकता गर्ने?’ भनेर दाहालले हाँसोमा उडाए। उनले अगाडि भने, ‘एकता गर्ने जति त गर्ने भइयो नि । गंगानारायण श्रेष्ठ लगायतका थुप्रै त्यहाँ उहाँसँग भ्रममा परेर गएका सबै फर्किँदै हुनुहुन्छ पर्सि । यो एकता होइन त ?’
गोर्खामा बाबुरामले भएभरका शक्तिसँग मिलेर माओवादीलाई हराउने कोसिस गरेको पनि दाहालले भन्न भ्याए। ‘गोर्खाको उपचुनावमा जहाँ म अहिले चुनाव लडेर जितेको ठाउँ हो, त्यहाँ एउटा वडामा भएभरका पार्टी एकातिर माओवादीलाई एक्लो पारेर हराई छाड्ने भनेर सबैभन्दा बढी बाबुराम ...,’ उनले भने, ‘तपाई त्यसलाई माओवादी भन्नुहुन्छ ? पूर्व माओवादी ? पूर्व माओवादी त्यस्ता ?’
प्रकाशित: ८ जेष्ठ २०८२ १३:४८ बिहीबार