भारत-तिब्बत सीमा प्रहरीका महानिर्देशक शत्रुजित कपूरले चीनले सैन्य आधुनिकीकरणमा गरेको प्रगतिका कारण परम्परागत तरिकाले उससँग लड्न कठिन भएको बताएका छन्।
उनको भनाइपछि भारतीय कांग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारको रक्षा नीतिमाथि प्रश्न उठाएको छ।
बिहीबार राजस्थानको अलवरस्थित एक कार्यक्रममा सैनिकहरूलाई सम्बोधन गर्दै कपूरले अरुणाचल प्रदेशका विभिन्न सीमावर्ती स्थानमा पछिल्ला केही दिनदेखि भारतीय र चिनियाँ सैनिक आमनेसामने हुने अवस्था जारी रहेको बताएका थिए।
सो अवसरमा उनले ‘शौर्य कमान्डो’ नामको नयाँ लडाकु टोलीले यस्तो परिस्थितिमा राम्रो काम गरेको जानकारी दिए। उनका अनुसार प्रत्येक सीमा बटालियनमा यस्ता कमान्डो रहनेछन्।
चीनको सैन्य क्षमताबारे टिप्पणी गर्दै कपूरले परम्परागत सैन्य रणनीतिबाट चीनसँग लड्न कठिन हुने बताएका हुन्। रूस-युक्रेन र अमेरिका-इरान युद्धको उदाहरण दिँदै ड्रोन प्रविधिले साना देशलाई पनि ठुला सैन्य शक्तिसँग लड्न सक्ने अवसर दिएको उनको भनाइ थियो।
उनले ड्रोन र ड्रोनविरुद्ध प्रयोग हुने प्रणालीलाई व्यापक रूपमा अपनाउनुपर्नेमा जोड दिए। साथै, सीमा प्रहरीका कर्मचारीलाई आधुनिक सैन्य रणनीति र युद्ध कौशल सिकाउन ‘स्ट्राइक’ नामको तालिम कार्यक्रम विकास गरिएको जानकारी दिए। सन् २०२७ को अन्त्यसम्ममा सम्पूर्ण कर्मचारीलाई उक्त तालिम दिने लक्ष्य रहेको उनको भनाइ थियो।
कपूरको भनाइपछि विपक्षी भारतीय कांग्रेसले सामाजिक सञ्जालमार्फत मोदी सरकारको आलोचना गरेको छ। पार्टीले पछिल्ला १२ वर्षमा सरकारले सेनाको आधुनिकीकरणमा पर्याप्त लगानी नगरेको र सेनालाई कमजोर बनाएको आरोप लगाएको छ।
कांग्रेसले अग्निवीर योजनाको आलोचना गर्दै यसले सेनालाई कमजोर बनाएको दाबी गरेको छ।
साथै, सेनालाई सरकारको समर्थन आवश्यक रहेका बेला मोदीले चीनप्रति नरम नीति अपनाएको र चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागत गरेको आरोप पनि लगाएको छ। पार्टीले सरकारको नीतिले भारत र भारतीय सेनालाई पछाडि धकेलेको दाबी गरेको छ।
यसअघि भारतका चिफ अफ डिफेन्स स्टाफ जनरल एनएस राजा सुब्रमणिले भारत-चीन सीमाको अवस्था स्थिर रहेको बताएका थिए। विदेशमन्त्री एस जयशंकरले पनि दुई देशबिचको सम्बन्ध सामान्य बनाउन सीमामा शान्ति र स्थिरता आवश्यक रहेको बताएका थिए।
सन् १९६२ मा स्थापना भएको भारत-तिब्बत सीमा प्रहरीले चीनसँगको तीन हजार ४८८ किलोमिटर लामो वास्तविक नियन्त्रण रेखाको सुरक्षा गर्दै आएको छ। सन् २०२० मा लद्दाखको गलवान क्षेत्रमा भारतीय र चिनियाँ सैनिकबिच भएको झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो। चीनले आफ्ना चार सैनिकको मृत्यु भएको स्वीकार गरेको थियो।
प्रकाशित: ६ कार्तिक २०८३ १५:३३ शुक्रबार





