६ असार २०८२ शुक्रबार
image/svg+xml
राजनीति

विधान मिचेर नेतृत्व चयन गरिएपछि एमाले निकट किसान महासंघ भित्र विवाद

अखिल नेपाल किसान महासंघ बाँकेमा हालै चयन गरिएको नयाँ कार्यसमिति । तस्बिर : अर्जुन ओली/नागरिक

सत्तारुढ नेकपा एमाले भित्रको चरम गुटबन्दीले बाँकेमा पार्टीको एउटा भ्रातृ संगठनको नेतृत्व चयन विवाद उत्कर्षमा पुगेको छ । विधान विपरित नेतृत्व चयन गरिएको भन्दै एमाले निकट अखिल नेपाल किसान महासंघ बाँकेमा विवाद उत्पन्न भएको हो ।  

गत बैशाख १३ गते उद्घाटन भएको महासंघको अधिवेशनले सोमबार नयाँ कार्यसमिति, पदाधिकारी चयन गरेको थियो ।कृष्णविक्रम केसीलाई तेस्रो कार्यकालका लागि किसान महासंघको अध्यक्ष बनाउन पार्टी नेताको निर्देशनमा विधान मिचिएको आरोप लगाइएको छ । नयाँ कार्यसमिति, पदाधिकारी निर्वाचित गर्न सहजीकरणका लागि भन्दै पाँच सदस्यीय ‘अध्यक्ष मण्डल’ बनाइएको थियो ।  

यीमध्ये ‘अध्यक्ष मण्डल’ का अध्यक्ष आरती पौडेल रसदस्य अञ्जना धितालले विधानमै ब्यवस्थान भएको ‘वरिष्ठ उपाध्यक्ष’ पद सिर्जना गरी शसिन्द्र शाहीलाई चयन गरेको आरोप लागेको हो । शाही अध्यक्ष पदका आकांक्षी थिए । उनी पनि विधानमै नभएको वरिष्ठ उपाध्यक्ष पदमा बस्न मानेका छैनन् । तर, नेताहरुको दवावमा शाहीलाई वरिष्ठ उपाध्यक्ष तथा उपाध्यक्ष(महिला)मा सरिता थापा र उपाध्यक्ष (खुल्ला)मा जगबहादुर रावललाई चयन गरियो ।  

उक्त प्रक्रियाप्रति असहमति जनाउँदै बहिष्कार गर्नेमा अध्यक्ष मण्डलका सदस्यहरु नारद शर्मा, मोति भुसाल र चेतन मल्ल रहेका छन् । ‘विधान विपरित तीन जना उपाध्यक्ष नबनाऔं भन्दा–भन्दै अध्यक्ष मण्डलका अध्यक्ष र एक जना सदस्यले बलजफ्ती गरेर वरिष्ठ उपाध्यक्ष पद सिर्जना गर्नुभयो, त्यसपछि हामी बाँकी तीनजना सदस्यले बहिष्कार गर्यौं,’ महासंघका केन्द्रीय सदस्य समेत रहेका अध्यक्ष मण्डलका सदस्य नारद शर्माले भने ।

लुम्बिनी प्रदेशका पुर्वमन्त्री समेत रहेकी पौडेल अखिल नेपाल किसान महासंघको लुम्बिनी प्रदेश इन्चार्ज समेत हुन् । विधान मिचेर कार्यसमिति, पदाधिकारी चयन गरिएपछि आफूसहित बहुमत अध्यक्ष मण्डलका सदस्यले बहिष्कार गरेको शर्माले दाबी गरे । ‘पाँच सदस्यीय अध्यक्ष मण्डल रहेकोमा हामी तीन जनाले गलत कार्यमा सहमति नजनाएर बहिष्कार गरेका हौं,’ उनले नागरिकसँग भने ‘अधिवेशनमा मनोनयन प्रक्रिया सबै भईसकेपछि जसरी विधान मिच्ने काम भयो, यो निर्णयप्रति हाम्रो आपत्ति हो ।’  

उनका अनुसार अखिले नेपाल किसान महासंघको विधानमा एक पुरुष र एक जना महिला गरी दुई जनामात्र उपाध्यक्ष निर्वाचित हुने व्यवस्था रहेको छ । तर, एमालेका केन्द्रिय सदस्य शान्ति ढकाल, निर्वतमान जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपति, जिल्ला सचिव बलराम भट्टराई, किसान महासंघका केन्द्रीय अध्यक्ष प्रेम दंगाल लगायतको निर्देशनमा अध्यक्ष मण्डलका अध्यक्ष पौडेल र सदस्य धितालले नयाँ पद सिर्जना गरेर जबरजस्ती कार्यसमिति घोषणा गरेपछि आफूहरुले बहिष्कार गरेको अध्यक्ष मण्डलका अर्का सदस्य चेतन मल्लले सुनाए ।  

‘यस्तो गलत हर्कत नेतृत्वले गर्छ भने किसान महासंघको संगठन अब कस्तो होला?’ उनले प्रश्न गर्दै भने ‘नेतृत्वले मनपरी चयन गर्ने हो भने किन प्रतिनिधि चाहियो र ?’ नेताको ईसारामा एउटै व्यक्तिलाई ३ पटक अध्यक्ष बनाउँदा जिल्लाका विभिन्न स्थानीय तहबाट आएका प्रतिनिधिहरु पनि असन्तुष्ट बनेको मल्लले बताए । अध्यक्ष मण्डलका बहुमत सदस्यले बहिष्कार गरेपछि घोषणा गरिएको नयाँकार्यसमिति बैधानिक नभएको उनको भनाई छ ।  

इता ‘अध्यक्ष मण्डल’का अध्यक्ष पौडेलले पार्टीको सुझावअनुसार विधानमा जे जस्तो व्यवस्था भएपनि कार्यसमिति निर्विरोध चयन गर्न नयाँ पद सिर्जना गरिएको बताइन् । ‘निर्विरोध समिति चयन गर्न वरिष्ठ उपाध्यक्ष पद थपिएको हो, कार्यसमिति चयनमा त्यस्तो ठुलो विवाद केही छैन,’ उनले नागरिकसँग भनिन् ।  

अखिल नेपाल किसान महासंघ बाँकेमा आगामी ३ वर्षका लागि नयाँकार्य समिति, पदाधिकारी निर्वाचित गर्न जिल्लाका ८ वटै स्थानीय तहबाट ४ सय बढी प्रतिनिधि आएपनि उनीहरु निराश भएर फर्केको अध्यक्ष मण्डलका सदस्य शर्माले बताए ।

प्रकाशित: ६ जेष्ठ २०८२ १७:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App