पूर्वमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले विभिन्न समुदायलाई दलहरूले नै सुकुम्बासी बन्न प्रोत्साहन गरिरहेको आरोप लगाएकी छन्। मङ्गलबार (आज) संसद्मा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएकी हुन्।
'सुकुम्बासी कुनै पनि समुदायको जीवनभरको पहिचान बन्नु हुँदैन, हुनु पर्दैन। एकातर्फ दलहरूले नै सुकुम्बासी बन्न प्रोत्साहन गरेका छन्। अर्कोतर्फ बाध्य पनि बनाएका छन्,' उनले भनिन्।
उनले वीरगञ्जदेखि काठमाडौंसम्मको यात्रा गर्दा धेरैले आफूलाई कतिपय सांसदहरूले लालपुर्जा दिलाउने भनेर बाचा गरेको सुनाएको बताए।
'उहाँहरूले यो फलानाा माननीयलाई गएर भनिदिनुस्, उहाँले लालपुर्जा दिलाउने भनेर भन्नुभएको थियो भनेर कतिले भने मलाई। अहिलेसम्म हामीलाई चाहिँ कुन कानूनले छेकेको रहेछ ? अहिलेसम्म हाम्रो अभिलेखसमेत छैन। कानूनको खोस्टामा लेख्दैमा केही हुँदैन। हाम्रो डिजिटल अभिलेख छैन। त्यसका लागि त नयाँ कानून चाहिँदैन। पहिलो त्यो बनाउनुपर्यो तर, त्यसका लागि बजेट नै छुट्याइँदैन। यो अध्यादेशको राउन्डबाट फेल भएको विधेयकले कसलाई फाइदा पुर्याउँछ ? जब फाउन्डेसनमा काम गरिँदैन, गजुरमा मात्रै गरिन्छ,' उनले भनिन्।
प्रकाशित: ६ जेष्ठ २०८२ १५:०७ मंगलबार





