२२ मंसिर २०८२ सोमबार
image/svg+xml
राजनीति

महानगर विवादः लहरो तान्दै बालेन, पहरो भस्काउँदै वडाध्यक्ष

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले कार्यपालिका अन्तर्गत ४ वटा समितिका संयोजकहरुको जिम्मेवारी हेरफेर गरेका छन् । नगर कार्यपालिका (कार्य सम्पादन) नियमावली २०७४ को नियम १५ बमोजिम गठन भएको समितिका ४ संयोजकलाई जिम्मेवारीबाट हटाएर उनले उपनियम १ बमोजिम नयाँ संयोजक तोकेको महानगरले जनाएको छ ।

वडा नम्बर १७ का अध्यक्ष नविन मानन्धरलाई सूचना प्रविधि समितिबाट हटाइएको छ । उनको जिम्मेवारी वडा नम्बर ५ का वडाध्यक्ष वीरेन्द्र प्रजापतिलाई दिइएको छ । योसँगै प्रजापति महानगरको प्रवक्ता पनि बनेका छन् ।

यस्तै, वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारीलाई सुशासन समितिबाट हटाइएको छ। तिवारीको ठाउँमा वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्कीलाई जिम्मेवारी दिइएको छ। वडा नम्बर ८ का अध्यक्ष आशामान संगतलाई सम्पदा तथा पर्यटन समितिबाट हटाइएको छ। उनको ठाउँमा वडा नम्बर २४ का अध्यक्ष विनोद कुमार राजभण्डारीलाई जिम्मेवारी दिइएको छ।

त्यसैगरी वडा नम्बर २३ का अध्यक्ष महाराजा महर्जनलाई विधायन समितिबाट हटाइएको छ। उनको ठाउँमा वडा नम्बर १६ की अध्यक्ष रोजिना श्रेष्ठलाई जिम्मेवारी तोकीएको छ।  

सूचना प्रविधि समितबाट हटाइएका नविन मानन्धर मेयर साहले मन नपरेपछि आफूलाई जिम्मेवारीबाट हटाएको बताउँछन्।

मानन्धर भन्छन्,‘समितिको संयोजकबाट हटाइएको हो। प्रवक्ताबाट हटाइएको छैन। मेयर ज्युलाई मन परेन होला हटाउनुभयो। यसअघि उहाँले स्पष्टिकरण पनि सोध्नु भएन। एक्कासी तपाईलाई जिम्मेवारीबाट हटाइयो भनेर पत्र आयो।’

यसको बारेमा छलफल गरिने उनले बताए। मेयरले प्रतिशोध साँधेर जिम्मेवारीबाट हटाएको मानन्धरको दाबी छ। यो विषय नियमसंगत छ वा छैन भन्ने विषयमा छलफल गरिने उनले बताए। प्रवक्ताबाट भने आफू नहटेको मानन्धर बताउँछन्।

‘प्रवक्ताबाट हट्नका लागि कार्यपालिकाको बैठक बस्नुपर्छ। कार्यपालिकाको बैठकमा बहुमतले निर्णय बसेपछि मात्र प्रवक्ताबाट हट्ने भन्ने हुन्छ, उनले भने, मेयरले प्रवक्ता हटाउने भन्ने हुँदैन।’

कार्यपालिकाको बैठकको माग गर्दा आफूहरुलाई जिम्मेवारीबाट हटाइएको मानन्धर बताउँछन्। पाँच महिनादेखि कार्यपालिकाको बैठक नबसेको र बस्नका लागि आग्रह गर्दा आफूहरुलाई जिम्मेवारीबाट हटाइएको उनी बताउँछन्।  

सम्पदा तथा पर्यटन समितिको संयोजकबाट हटाइएका वडा नम्बर ८ का अध्यक्ष आशामान संगत मेयरसँग कार्यपालिकाको बैठक माग्दा जिम्मेवारी नै खोसिएको बताउँछन्।  संगत भन्छन्, ‘हामीले मेयरसँग कार्यपालिकाको बैठक माग्यौं, उहाँलाई मन परेन उहाँले हामीलाई निकाल्नुभयो। त्यो विधिसंगत होइन्।’

मेयरले जिम्मेवारीबाट हटाइएको पत्रमा हटाउनुको कारण पनि नलेखिएकोले किन हटाएको भन्ने कुरा थाहा नभएको उनी बताउँछन्। ‘मेयरले पठाउनुभएको पत्र मेरो हातमा परेको छ। पत्रमा जिम्मेवारीबाट हटाइएको भन्ने मात्र लेखिएको छ। किन हटाइएको त्यसको कारण पत्रमा उल्लेख गरिएको छैन,’ उनले भने।

जिम्मेवारीबाट हटाइएको बिषयमा आफूहरु छलफलमा रहेको उनले बताए। नियम कानुन अनुसार चल्नुपर्ने र त्यो विषय सबैले मान्नुपर्ने उनी बताउँछन्।

सुशासन समिति संयोजकको जिम्मेवारी पाएका वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की जिम्मेवारी दिएको तर काम गर्ने नगर्ने निर्णय गर्नै बाँकी रहेको बताउँछन्।

कार्की भन्छन्,‘मेयर ज्युले जिम्मेवारी दिनुभएको छ। तर पार्टीले के भन्छ भन्ने कुरा छ। पार्टीले संयोजक भएर काम नगर भन्यो भने त गर्दिन। त्यसका लागि की पार्टीसँगै नै बिद्रोह गर्नुपर्यो। पार्टीसँग छलफल गरेर निर्णय गर्छु।’

प्रमुख प्रशासकीय अधिकृतलाई लिएर र मेयर र केन्द्र सरकारबीच टकराब भएको उनी बताउँछन्। उक्त टकराबले आजको अवस्था सिर्जना भएको उनको भनाइ छ।

यता मेयर बालेन शाहको सचिवालयले भने समिति संयोजकको जिम्मेवारी हेरफेर गर्नु सामान्य कुरा भएको बताएको छ। सचिवालयका एक सदस्यले भने, ‘उहाँहरु समितिको संयोजक हुनुभएको तीन वर्ष भयो। अरुलाई पनि अवसर दिउँ भन्ने कुरा हो। त्यसैले परिवर्तन गरिएको हो। यसलाई त्यस्तो ठुलो बनाउनुपर्ने कुरा छैन।’

महानगरको वडाध्यक्षहरु परिवार भएको हुँदा परिवारभित्र प्रतिशोध नराखिएको पनि सचिवालय बताउँछ। सबैलाई समान अवसर दिनका लागि जिम्मेवारी हेरफेर गरेको सचिवालयको भनाइ छ।

त्यस्तै मेयर बालेन साहले दिएको समिति संयोजकको जिम्मेवारीलाई ३ जना वडाध्यक्षले भने अस्वीकार गरेका छन् ।

आइतबार मेयरलाई संयुक्त निवेदन दिँदै उनीहरूले विषयगत समितिको संयोजक पदमा रहन, तोकिएका जिम्मेवारी कार्यपालिकाको बैठकबाट अनुमोदन नभएको अवस्थामा उपयुक्त नदेखिने बताएका छन्।

सुशासन समितिको संयोजक तोकेका वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की, सूचना प्रविधि समितिका वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापति र सम्पदा तथा पर्यटन समिति संयोजक तोकिएका वडाध्यक्ष २४ का अध्यक्ष विनोद राज भण्डारीले जिम्मेवारीमा बस्न अस्वीकार गरेका हुन् ।

राष्ट्रिय  स्वतन्त्र पार्टी रास्वपाबाट वडा अध्यक्ष जितेकी रोजिना श्रेष्ठ भने अझै मौन छिन्। श्रेष्ठलाई मेयर शाहले विधायन समिति संयोजकको जिम्मेवारी दिएका छन्। दिइएको जिम्मेवारीको बारेमा उनले कुनै प्रतिक्रिया दिएकी छैनन्।  

प्रकाशित: ५ जेष्ठ २०८२ १३:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App