खानेपानीमन्त्री प्रदीप यादवले वीरगञ्ज महानगरपालिका–१८ सुपचौना र वडा नं. २१ परवानीपुरमा जल निकासी प्रणाली सुधार हुने बताएका छन्।
वीरगञ्ज महानगरपालिका–२१ को परवानीपुरदेखि पटेलनगरसम्मको सडकमा नाला र ढलान निर्माणको शिलान्यास गर्दै मन्त्री यादवले यो कार्य सम्पन्न भएपछि वर्षातमा हुने जलजमाव समस्या पूर्ण रूपमा समाधान हुने र आवागमन सहज हुने बताए।
उनले भने, ‘नाला तथा ढलान निर्माणपछि यो क्षेत्रको जल निकासी प्रणाली सुधार हुने र सडक व्यवस्थित हुने छ। विकास निर्माणमा सबैको सहकार्य आवश्यक छ।’
मन्त्री यादवले स्थानीय पूर्वाधार विकासलाई प्राथमिकता दिँदै नागरिकको दैनिक जीवन सहज बनाउन यस्ता आयोजना महत्त्वपूर्ण भएको बताए। उनले भने, ‘खानेपानी र ढल निकासमा धेरै काम भएका छन्। नागरिकको जीवन सहज बनाउन सरकार प्रतिबद्ध छ।’
मन्त्री यादवले यो क्षेत्र आफ्नो निर्वाचन क्षेत्र भएकोले जनताको समस्यालाई बुझेर सुविधाका लागि बजेट विनियोजन गरी यो कार्य शुरू गरिएको जानकारी दिए। शुद्ध खानेपानी, नाला र ढलान निर्माणजस्ता जनतासँग जोडिएका सेवालाई प्राथमिकतामा राखेर समयमै काम सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिए।
रु. १ करोड ७२ लाख लागतको यो नाला र ढलान निर्माण वडा नं. १८ सुपचौना र वडा नं. २१ परवानीपुरमा १,२५६ मिटर लम्बाइमा बन्ने वीरगञ्ज महानगरपालिका–२१ का वडाध्यक्ष राधेकृष्ण साह रौनियारले बताए।
नाला र ढलान निर्माण शुरू भएपछि स्थानीयले व्यवस्थित जल निकासी प्रणाली पाउने भन्दै खुशी व्यक्त गरेका छन्। वर्षौंदेखि जलजमाव समस्याबाट पीडित स्थानीयले अब सहज जल निकासीको अपेक्षा गरेका छन्।
प्रकाशित: ४ जेष्ठ २०८२ १०:०७ आइतबार