नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माको संयोजनमा शनिबार सगरमाथा आधार शिविर (बेसक्याम्प) मा ‘जलवायु परिवर्तन, हिमाली जीवन र सरकारसँगको अपेक्षा’ विषयक विशेष संवाद कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा गृहमन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेको पनि उपस्थिति रहेको थियो।
महामन्त्री शर्माको निमन्त्रणामा आधार शिविर पुगेका मन्त्रीद्वयसमक्ष स्थानीय तथा आरोहण क्षेत्रका सरोकारवालाहरूले सरकारले तत्कालीन र दीर्घकालीन रूपमा गर्नुपर्ने १६ बुँदे माग प्रस्तुत गरेका थिए।
३१ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका आरोही कामिरिता शेर्पालाई सम्मान गर्दै सुरु गरिएको उक्त संवादमा स्थानीयका तर्फबाट आरोही बाबु शेर्पाले १६ बुँदे माग वाचन गरे।

लुक्लादेखि पाँच दिनको पदयात्रापछि आधार शिविर पुगेका महामन्त्री शर्माले यो साता आरोहण प्रशिक्षण लिने र हिमाली क्षेत्रका नागरिक एवं आरोहण क्षेत्रले भोग्नुपरेका समस्या पहिचान गरी फिल्डबाटै सम्बन्धित मन्त्रीहरूको ध्यानाकर्षण गराउने कार्यमा केन्द्रित रहेका थिए।
स्थानीयको १६ बुँदे माग ग्रहण गर्दै गृहमन्त्री लेखकले वर्तमान सरकार जलवायु परिवर्तन र हिमाली जीवनका मुद्दामा गम्भीरतापूर्वक कार्य गर्न समर्पित रहेको बताए।

पर्यटन मन्त्री पाण्डेले पर्यटन क्षेत्रको समग्र विकासका लागि प्रस्तुत गरिएका १६ बुँदाको कार्यान्वयनमा विशेष सक्रियताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा महामन्त्री शर्माले आधार शिविरमा सञ्चार टावरको व्यवस्था, भरियाहरूको बिमा र सुरक्षा एकाइ स्थापना जस्ता विषयमा सरकारले अविलम्ब ध्यान दिनुपर्नेमा जोड दिए। उनले कार्बन उत्सर्जन बढी गर्ने विकसित राष्ट्रहरूमाथि दबाब बढाउन नेपालले साना राष्ट्रहरूको नेतृत्व लिनुपर्ने धारणा राखे।

संवाद कार्यक्रममा कीर्तिमानी आरोही कामिरिता शेर्पा, डा. आशिष पौडेल, मिङमा छिरिङ शेर्पा, दावा शेर्पा, पासाङ भोटेलगायतले सगरमाथा क्षेत्रले भोग्दै आएको सङ्कट समाधान गर्न सरकारले विशेष योजना बनाउनुपर्नेमा ध्यानाकर्षण गराएका थिए।
प्रकाशित: ३ जेष्ठ २०८२ १८:२९ शनिबार