राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा राज्य व्यवस्था तथा सुशासन समिति सदस्य बुद्धिमान तामाङले नासुभन्दा माथिल्लो तहका कर्मचारीलाई ट्रेड युनियन खोल्ने अधिकार दिन नहुने भन्दै फरक मत दर्ज गराएका छन्।
'नायव सुब्बाभन्दा माथिल्लो तहका निजामती कर्मचारी नीति निर्माणसँग प्रत्यक्ष जोडिने भएकाले उनीहरूलाई ट्रेड युनियन खोल्ने वा त्यसमा आवद्ध हुने अधिकार मुलुकका लागि हितकर हुन सक्दैन। निजामती सेवाको नायव सुब्बा वा सोभन्दा मुनिका कर्मचारीहरूको हकमा एकमात्र आधिकारिक ट्रेड युनियनमा आवद्ध हुने अधिकार दिनुपर्छ,' तामाङले भनेका छन्।
राजनीतिक दल वा विचार समूहको आधारमा भ्रातृ सङ्गठनको काम गर्नेगरी ट्रेड युनियन खोल्ने अधिकार दिने निर्णयप्रति उनले विमति जनाएका छन्।
समितिले निजामती सेवा ऐन, २०४९ संशोधन विधेयकका सवालमा राज्य व्यवस्था समितिबाट निजामती कर्मचारीहरूलाई ट्रेड युनियनको अधिकार दिनेगरी विधेयकको प्रावधान पारित गरेको छ। तामाङले यहीँ फरक मत राखेका हुन्।
उनले निजामती वा अन्य जुनसुकै पनि राज्य कोषबाट तलब, सेवा, सुविधा प्राप्त गर्ने कर्मचारी वा राष्ट्रसेवक राज्यकै भएको उनले बताएका छन्। 'उनीहरू कुनै दल, समूह वा विचार समूहका होइनन् र हुन सक्दैनन्। उनीहरूलाई ट्रेड युनियनको अधिकार दिएमा उनीहरूले राष्ट्रकै सेवासुविधा लिएर राष्ट्रकै नीति नियमविरुद्ध आफ्ना मागहरू लिएर सौदाबाजी गर्नेछन्,' उनले भनेका छन्, 'यसबाट राष्ट्रलाई हित हुँदैन।'
प्रकाशित: १ जेष्ठ २०८२ २१:०५ बिहीबार