राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले सहकारी पीडितका प्रति सरकार गम्भीर नबनेको आरोप लगाएकी छन्।
बिहीबार (आज) जारी संसद् बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि बोल्दै कार्कीले यस्तो बताएकी हुन्।
'अघिल्लो अधिवेशनमा संसदीय छानबिन समिति बनाएर संसद्को महिनौँको बहुमूल्य समय खर्च गरेर गरिएको उच्चस्तरीय छानबिन एक व्यक्ति रवि लामिछानेलाई थुनामा पठाउने प्रपञ्च रच्नका लागि मात्रै थियो ?,' कार्कीले प्रश्न गरिन्।
उनले समितिले बनाएको प्रतिवेदन पनि पीडित र जनताका लागि नभएको जिकिर गरिन्। 'ती प्रतिवेदनहरू जनतालाई झुक्काउनका लागि मात्रै थियो ? यदि यी प्रतिवदेनहरू साँच्चै जनताको हितमा थिए भने आजसम्म समस्याग्रस्त भनिएका सहकारीहरूबारे किन ठोस कदम चालिएको छैन ?,' उनले थप सोधिन्।
उनले देशभर लाखौँ सहकारी पीडितहरू न्यायका लागि हारगुहार गरिरहेको बताइन्। 'कसैले घर गुमाएका छन्, कसैले व्यवसाय त कसैले जीवन नै। उनीहरूले आत्महत्या गरेका पीडादायी घटनाहरू सुनिन्छन्। सरकार किन गम्भीर बन्दैन?,' उनले भनिन्।
प्रकाशित: १ जेष्ठ २०८२ १७:२० बिहीबार