नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले कम्युनिष्टहरूले समाजवादलाई सत्तामा पुग्ने सिँढी मात्रै बनाएको बताएका छन्।
बिहीबार (आज) संसद्मा जारी विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्।
'सिद्धान्तमा समावेशी, व्यवहारमा आफूखुसी भन्ने जुन हामीले लागू गरिरहेका छौँ। त्यही बाटोमा हामी जानेछौँ। समाजवाद बोल्ने, लेख्ने मात्रै सिद्धान्त होइन, आम नागरिकले अनुभूति गर्ने विषय हो। हामी कम्युनिष्ट पार्टीका नेताहरू सत्तामा छौँ र समाजवाद भन्ने हामीलाई सत्तामा पुग्ने सिँढी मात्रै भएको छ,' उनले भने।
उनले अहिलेसम्म कम्युनिष्ट पार्टीहरूले पनि समाजवादी कार्यक्रम दिन नसकेको बताए। 'अहिले समाजवादलाई सबैले स्वीकार गरेका छौँ। संविधानले स्वीकार गरेको छ। अर्थ व्यवस्था पनि समाजवादी नै हुने भनिएको छ, त्यो लागू गरौँ। समाजवादलाई सत्ताको सिँढीका रूपमा मात्रै प्रयोग गर्ने नगरौँ,' उनले भने।
प्रकाशित: १ जेष्ठ २०८२ १६:५० बिहीबार





