२९ जेष्ठ २०८२ बिहीबार
image/svg+xml
राजनीति

गल्ती स्वीकार्ने आँट छ, अबको लक्ष्य पहिलो पार्टी: माओवादी उपाध्यक्ष भुसाल

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष पम्फा भुसालले विगतका कमजोरीहरूबाट पाठ सिक्दै पार्टी अब आक्रामक र रणनीतिक ढंगले अघि बढ्ने बताएकी छन्।

बुधबार साँझ नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’मा बोल्दै नेतृ भुसालले यस्तो बताएकी हुन्।

उनले आगामी निर्वाचनमा देशको पहिलो शक्ति बन्ने महत्वाकांक्षी लक्ष्य निर्धारण गरेको सुनाइन्। जनतासमक्ष गल्ती स्वीकार गर्ने साहस माओवादीमा रहेको र यही नै पार्टीको पुनर्जागरणको आधार भएको उनले भनाइ थियो।

‘मान्छेले गल्ती गरेर लुकाउने प्रवृत्ति हुन्छ, तर हामी कमजोर भयौं, हामीबाट गल्ती भयो भनेर स्वीकार्छौँ र सच्चिने प्रतिबद्धता गर्छौँ। यही हाम्रो शक्ति हो।’ उनले भनिन्।

उनल ेपार्टीको हालै सम्पन्न झापा-कञ्चनपुर अभियानको सफलताले जनताको माओवादीप्रतिको भरोसा र आकर्षण पुनः बढेको प्रमाणित भएको सुनाइन्।, जहाँ हजारौँ व्यक्तिहरू, विशेषगरी वामपन्थी रुझानका, अन्य पार्टी परित्याग गरी माओवादीमा प्रवेश गरेको उनको भनाइ थियो।

नेतृ भुसालले पार्टी अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनपछि माओवादी पहिलो पार्टी बन्ने भनेर गरेको उद्घोषलाई आधारहीन नभएको जिकिर गरे।

‘हाम्रो अहिले कार्यदिशामा नै हामीले विकास गरेका छौँ,’ उनले भनिन, ‘जनयुद्ध र जनआन्दोलनका उपलब्धिहरू, जुन हाम्रो संविधानमा लिपिबद्ध छन्, त्यसको पूर्ण कार्यान्वयन हाम्रो मुख्य एजेन्डा हो।’

उनले संविधानअनुरूपका कानुनहरू बन्न नसकेको र पञ्चायतकालीन कानुनले नै राज्य सञ्चालन भइरहेको अवस्थाको अन्त्य गर्न माओवादीले निर्णायक भूमिका खेल्ने उल्लेख गरिन्।

विगतमा गठबन्धनका कारण पार्टीले आफ्नै चुनाव चिह्नमा भोट माग्न नपाएको र सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिन नसकेको अवस्थाले संगठनलाई कमजोर बनाएको स्वीकार्दै उनले अब त्यस्ता कमजोरी दोहोरिन नदिने संकेत गरिन्। ‘हामी जनताबाट छुट्यौँ, त्यो हामीले महसुस गरेका छौँ,’ उनले भनिन्, ‘तर अब हामी त्यो दूरीलाई मेटाउँदैछौँ।’

माओवादीले विशेषगरी युवा पुस्तालाई आकर्षित गर्न, उनीहरूलाई परिवर्तनको मूल्य र महत्व बुझाउन तथा देश विकासमा उनीहरूको भूमिका सुनिश्चित गर्न विशेष कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको पनि नेतृ भुसालले जानकारी दिइन्।

उनले उत्पीडित समुदायको पूर्ण अधिकार र पहिचानसहितको संघीयताको मुद्दालाई पार्टीले सशक्त रूपमा उठाउने प्रतिबद्धता पुनः व्यक्त गरिन्।

प्रकाशित: ३१ वैशाख २०८२ २०:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App