८ असार २०८२ आइतबार
image/svg+xml
राजनीति

जनतासँग क्षमा माग्दै, नयाँ पुस्तालाई जोड्दैछौं: भुसाल

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष पम्फा भुसालले आफ्नो पार्टीले विगतमा जनतासँगको सम्बन्धमा केही कमजोरी भएको स्वीकार गर्दै अब ती गल्तीहरू सच्याएर अघि बढ्ने र विशेषगरी नयाँ पुस्तालाई परिवर्तनको महत्व बुझाउँदै पार्टीमा जोड्ने अभियान थालेको बताएकी छन्।

उनले जनतासँग गल्ती स्वीकार गर्न र क्षमा माग्न पार्टीलाई कुनै हिच्किचाहट नभएको स्पष्ट पारिन्। बुधबार साँझ नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा बोल्दै नेतृ भुसालले भनिन्, ‘संगठन र जनतासितको सम्बन्धमा कतै न कतै हामी चुकेछौँ। हामीबाट गल्ती भयो, हामी सच्चिन्छौँ। तपाईंले सल्लाह-सुझाव दिनुहोस्, तपाईंको माया-ममता दिनुहोस् भन्दै हामी जनताको माझमा जान्छौँ। कतिपयले त क्षमा माग्ने पार्टी भन्छन्, तर जनतालाई ढाँट्नुहुन्न।’

उनले झापादेखि कञ्चनपुरसम्मको अभियानमा जनताले पार्टीप्रति पुनः भरोसा र विश्वास देखाएको र हजारौँको संख्यामा अन्य पार्टीबाट माओवादीमा प्रवेश गरेको दाबी गरिन्।

उपाध्यक्ष भुसालले विशेषगरी २०६५ सालपछिको युवा पुस्तालाई विगतको निरंकुशता र त्यस विरुद्धको संघर्षको अनुभूति नभएको उल्लेख गर्दै भनिन्, ‘यो युवापुस्तालाई हिजोको कुरा बुझाउनुपर्ने र अहिलेको परिवर्तनको मूल्य कति चर्को थियो, त्यो बुझाउनु आवश्यक छ। अब यो अधिकार प्राप्तिमा त्यो पंक्ति आएर आर्थिक-सामाजिक विकासका निम्ति आफ्नो क्षमता, योग्यता र विकसित प्रविधिको प्रयोग गरोस् भन्ने हाम्रो चाहना हो।’ 

उनले पार्टीले उठाएको पहिचानसहितको संघीयता पूर्णरूपमा कार्यान्वयन हुन नसकेको र उत्पीडित समुदायले अझै पूर्ण अधिकार नपाएको स्वीकार गर्दै ती एजेन्डाहरूलाई सदन र आवश्यक परे सडकबाट समेत जोडदार रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरिन्।

विगतका गठबन्धनका कारण आफ्नै चुनाव चिह्नमा भोट हाल्न नपाउने र सबै क्षेत्रमा उम्मेदवार उठाउन नपाउने जस्ता समस्याले पनि पार्टीलाई जनताबाट केही टाढा बनाएको उनको विश्लेषण थियो।

‘हामी छुट्यौँ, जति बलियो र जीवन्त सम्बन्ध हुनुपर्थ्यो, त्यो भएन भन्ने हामीले एकदमै महसुस गरेका छौँ,’ नेतृ भुसालले भनिन्।

तर, अब पार्टी अध्यक्ष दाहालले भनेजस्तै २०८४ को चुनावपछि पहिलो पार्टी बन्ने आधारहरू तय भइरहेको र त्यसका लागि पार्टीले आफ्नो कार्यदिशामा समेत विकास गरेको उनको भनाइ थियो।

संविधानको पूर्ण कार्यान्वयन र पञ्चायतकालीन कानुन विस्थापित गर्दै नयाँ कानुन निर्माणमा पार्टीले जोड दिने उनले बताइन्।

प्रकाशित: ३१ वैशाख २०८२ २०:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App