नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष पम्फा भुसालले आफ्नो पार्टी नेतृत्वको अघिल्लो सरकारले सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायका क्षेत्रमा काम गर्न खोज्दा देशमा जकडिएर बसेको माफिया सञ्जाललाई असर पर्न थालेपछि सरकारबाट बाहिरिनुपरेको बताएकी छन्।
उनले बुधबार साँझ नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा बोल्दै यस्तो बताएकी हुन्। नेतृ भुसालले तत्कालीन सरकार भ्रष्टाचारविरुद्ध कठोर रूपमा प्रस्तुत हुँदा निहित स्वार्थ बोकेका विभिन्न शक्ति र सञ्जालहरू अत्तालिएको बताइन्।
‘मुख्य गरेर हाम्रोमा भ्रष्टाचार एउटा दीर्घकालीन रोग जस्तो भयो, जसले विकासलाई अघि बढ्न दिएन,’ उनले भनिन, ‘देशमा माफियाहरूको पुरानो र बुनिएको सञ्जाल छ। जब सरकारले त्यसलाई छुन थाल्यो, त्यसपछि सरकार पछि हट्नुपर्ने स्थिति आयो।’
उनले तत्कालीन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले विश्वासको मत माग्दा संसदमा अन्तिम सम्बोधन गर्ने क्रममा पनि यही विषयलाई संकेत गरेको स्मरण गरिन्।
माओवादी केन्द्रले सोही एजेन्डालाई अहिले पार्टी पंक्ति र जनतासमक्ष लिएर जाने अभियान चलाइरहेको उनको भनाइ थियो।
पार्टीको वर्तमान अवस्था र भविष्यको रणनीतिबारे बोल्दै उपाध्यक्ष भुसालले माओवादी केन्द्रले देशको परिवर्तनका एजेन्डा स्थापित गरे तापनि आफैँ शक्तिमा खुम्चिनु परेको यथार्थको गम्भीर आत्मसमीक्षा गरेको बताइन्।
‘हामीले आफूतिरै फर्किएर समीक्षा गर्यौँ। एजेन्डा हाम्रो, २०६४ सालमा हामी पहिलो पार्टी, तर अहिले तेस्रो ? यसमा ठूलो अन्तर किन आयो?" उनले प्रश्न गरिन्।
यसका पछाडि पटक-पटकको टुटफुट, वर्ग र समुदायबाट पार्टीको सम्बन्ध केही कमजोर हुनु, सरकारमा रहँदा कतिपय अवस्थामा जनताको अपेक्षाअनुरूप काम गर्न नसक्नु र कहिले कांग्रेस त कहिले एमालेसँगको गठबन्धनले पार्टीको स्वतन्त्र पहिचानमा असर पर्नु जस्ता कारण रहेको उनको विश्लेषण थियो।
नेतृ भुसालले अब पार्टी आफ्नो आधारभूत वर्ग र उत्पीडित समुदायमा फर्किनुपर्नेमा जोड दिँदै भनिन्, ‘हामी श्रमिक वर्ग, मजदुर किसान, उत्पीडित समुदाय, महिला, दलित, आदिवासी जनजाति, मुस्लिमलगायत जुन समुदायमा आधारित भएर आन्दोलन र एजेन्डा स्थापित गर्यौँ, पछि त्यही वर्ग समुदाय छुटेको जस्तो अनुभूति भयो। त्यसैले अब हामी त्यो वर्गमा फर्किनुपर्छ।’
पार्टीले यही उद्देश्यका साथ हालै एउटा अभियान सम्पन्न गरेको र अर्को अभियान पश्चिम क्षेत्र केन्द्रित गरी छिट्टै सुरु गर्न लागेको जानकारी दिइन्।
उनले छरिएर रहेका माओवादी घटकहरूलाई एकताबद्ध गर्ने, सच्चा वामपन्थी, क्रान्तिकारी र देशभक्त शक्तिहरूसँग एकता गर्ने र दीर्घकालमा देशमा एउटै कम्युनिस्ट पार्टी निर्माण गर्ने लक्ष्यका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याइन्।
प्रकाशित: ३१ वैशाख २०८२ १९:४२ बुधबार