१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

'अहिलेको निर्वाचन प्रणाली जनताको होइन, परिवर्तनका लागि संविधान संशोधन अपरिहार्य छ'

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधन अपरिहार्य भएको बताएका छन्।

आइतबार (आज) धरानमा आयोजित किराती र लिम्बुवान् राष्ट्रिय मुक्ति मोर्चा, नेपालको संयुक्त राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

हालको निर्वाचन प्रणाली जनताको नभई पैसावालहरूको पक्षमा रहेको उनले बताए। 'यो प्रणाली परिवर्तन गरी राष्ट्रपतीय प्रणाली र जनमुखी समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्न संविधान संशोधन अपरिहार्य छ,' उनले भने।

उनले माओवादी नेतृत्वको जनयुद्ध र जनआन्दोलनको संयोजनबाट प्राप्त उपलब्धिहरू समेट्दै जनताको साथमा निर्माण गरिएको संविधानलाई संशोधनमार्फत अझ समावेशी समाजवादतर्फ उन्मुख बनाउने अभियानमा साथ दिन आह्वान गरे। 

'शान्ति प्रक्रियामा आएपछि हामी थोरै जनताबाट टाढा भएका जस्तै थियौँ भन्ने निष्कर्षसहित केन्द्रीय समितिको बैठकमा गम्भीर आत्मसमीक्षा गरिएको छ। अब हामी देशका सबै उत्पीडित वर्ग, जाति, लिङ्ग र क्षेत्रका जनतासँग सम्बन्ध सुधार्ने अभियानमा छौँ,” उनले भने।

सरकारको नेतृत्वमा रहँदा माओवादी केन्द्रले देश र जनताको पक्षमा काम गर्न कोशिस गरेको बताउँदै उनले समावेशी पूर्वाधार विकास अभियानअन्तर्गत मध्यपहाडी लोकमार्ग, हुलाकी मार्ग तथा उत्तर-दक्षिण करिडोरहरू निर्माणको थालनी गरेको स्मरण गराए। त्यस्तै, भूकम्पसँगै मधेसमा विद्रोहको अवस्था सिर्जना हुँदा मधेसलाई समेटेर चुनावमा लैजाने र लोडसेडिङ अन्त्य गर्ने कार्य आफ्नै नेतृत्वमा गरिएको उनले बताए।

तेस्रो कार्यकालको सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध सुशासनको पक्षमा निर्मम अभियानको थालनी गरिएको उल्लेख गर्दै उनले भने, 'मैले छानबिन गर्दा आफूविरुद्ध पनि अनुसन्धानको सुई देखापरेको खण्डमा मलाई पनि नछोड्नू भनेर अनुसन्धामा खटिएका प्रहरीका प्रमुखलाई निर्देशन दिएको थिएँ। भ्रष्टाचारविरुद्ध सुशासनको अभियानमा मैले आफ्नो अर्को कोही कसैलाई छुट दिन हुँदैन भनेर नै भ्रष्टाचाविरुद्ध निर्मम अभियान अघि बढाएको थिए।”

प्रकाशित: २८ वैशाख २०८२ १५:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App