९ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

खोटाङ वाईसिएल अध्यक्षमा भूपेन्द्र

वाईसिएल खोटाङको नवनिर्वाचित कमिटी। तस्बिरः महेश्वर

नेकपा (माओवादी केन्द्र)को युवा दस्ता योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपालको खोटाङ अध्यक्षमा भूपेन्द्र किराती चयन भएका छन्। वाईसिलको बुधबार राति अवेर सम्पन्न प्रथम जिल्ला सम्मेलनले किराती नेतृत्वमा सर्वसम्मत जिल्ला कमिटी चयन गरेको हो।

५५ सदस्यीय जिल्ला कमिटीका ३ उपाध्यक्षमा क्रमशः चेवन बुधाथोकी, जीवनज्योति राई र मीनाकुमारी घिमिरे (बुधाथोकी) छानिएका छन्। त्यस्तै सचिव सुजेन राई, ३ सहसचिवमध्ये २ जना विजय राई र राजेश प्रधान तथा कोषाध्यक्ष वुद्धिकुमार राई छानिएको निर्वाचन मण्डलले जनाएको छ। एक जना महिला सहसचिवको स्थान भने जिल्लाको जन्तेढुङ्गा गाउँपालिकाबाट पूर्ति गर्नेगरी रिक्त राखिएको छ। जन्तेढुङ्गामा वाईसिएलको सम्मेलन हुन बाँकी रहेको छ।

नवनिर्वाचित कमिटीलाई वाईसिएल केन्द्रीय सदस्य तथा खोटाङ जिल्ला इन्चार्ज शुभलाल राई ‘आदेश’ले बिहीबार विहान पद तथा गोपनीयताको शपथ गराएका छन्। सदरमुकाम दिक्तेल बजारस्थित शहीद दिलकाजी–ठूलकुमार स्मृति भवन दिक्तेलमा शपथ ग्रहणपछि पहिलो बैठक पनि त्यहीँ बसिरहेको नवगठित कमिटी अध्यक्ष किरातीले बताए। उनका अनुसार जिल्ला कमिटीमा खोटाङका १० वटै स्थानीयतहका वाईसिएल प्रतिनिधिलाई समेटिएको छ।

दिक्तेलमा आयोजित जिल्ला सम्मेलनको उद्घाटन पार्टीका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष तथा पूर्व सांसद टङ्क राईले गर्दै देश बनाउने जिम्मा युवाहरूको काँधमा रहेको भन्दै त्यसको अग्र भागमा वाईसिएल नेपाल हुनुपर्ने बताए। वाईसिएल माओवादीको प्रमुख भातृ संस्था भएको र यसले मात्र देशलाई कसरी समृद्ध बनाउने भन्ने निर्क्यौल गर्ने उनले बताए।

वर्तमान सङ्घीय गणतन्त्रात्मक नेपालको राज्य व्यवस्थाको जननी माओवादी केन्द्र रहेको भन्दै अध्यक्ष राईले देश विकास शान्ति, समृद्ध बनाउने जिम्मा पनि माओवादीले मात्र लिन सक्ने उनको भनाइ थियो। वाईसिएलले देश र जनताको भलाई हुने गतिविधि मात्र गर्नुपर्ने बताउँदै उनले बर्बादीतर्फ जानबाट बचाउन युवा जमात सधैं तत्पर रहन सतर्क गराए।

कार्यक्रममा केन्द्रीय सदस्यहरू समिता कार्की ‘अस्मिता’ र दुर्गाजयन्ती राई, वैकल्पिक केन्द्रीय सदस्य तथा फ्रयाक्सन इन्चार्ज ध्रुव बुढाथोकी ‘धिरेन’, पार्टीका बागमती प्रदेश अध्यक्ष सरल सहयात्री, प्रदेश उपाध्यक्ष देवान किराती ‘पृथ्वी’लगायतको पनि उपस्थिति रहेको वाईसिएलका निवर्तमान खोटाङ अध्यक्ष किसान राई ‘दोबालिछा’ले बताए।  

कार्यक्रममा नेपाली कांग्रेसनिकट तरुण दलका खोटा अध्यक्ष काजीमान राई, एमाले युवा सङ्घका खोटाङ सचिव सविन राई ‘विज्ञान’ लगायतले शुभकामना मन्तव्य राखेका थिए। सम्मेलन उद्घाटन गर्नुअघि युवाहरूको जमातले विभिन्न नाराजुलुससहित दिक्तेल बजारमा मोटरसाइकल र्‍याली निकालेका थिए।

यता उदयपुरको लिमचुङबुङ गाउँपालिका वाईसिएल अध्यक्षमा विश्वदिप राई चयन भएका छन्। बुधबारै सम्पन्न प्रथम गाउँ सम्मेलनको बन्दसत्रले ३३ सदस्यीय नयाँ कमिटी चयन गरेको वाईसिएल लिमचुङबुङ इन्चार्ज रञ्जना राईले बताइन्।

प्रकाशित: २५ वैशाख २०८२ १२:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App