१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

ताप्लेजुङ युवा संघ अधिवेशन विवाद: छानबिन गर्न कमिटी गठन

पार्टीबाट निलम्बित एमाले प्रदेशस्तरीय कमिटीका दुई नेताले विधि र प्रक्रियाको कुरा उठाउँदा पार्टीले निलम्बन र कारबाही गर्ने हो भने सो कुरा कार्यकर्ताहरूले बुझ्नुपर्ने बताएका छन्।

निलम्बित एमाले प्रदेश कमिटी सल्लाहकार परिषद् सदस्य बलबहादुर साम्सोहाङले भने, छानबिन समिति बनेको छ रे, त्यसले युवा संघको नेतृत्व चयनको प्रकृया समेत हेर्दो हो,हेर्दै जाऔँ।’ उनले आफुहरु पार्टी संगठनका हरेक गतिविधि विधिसम्मत हुनुपर्ने पक्षमा रहेको समेत प्रतिक्रिया दिए ।

त्यस्तै निलम्बित अर्का नेता मणिशंकर पोमूले पार्टी भित्रको साङ्गठनिक अराजकताको विरुद्ध जस्तो सुकै मूल्य चुकाउन पनि आफू तयार रहेको प्रतिक्रिया दिएका छन्।

‘पार्टी र संगठन विधि र प्रकृया अनुसार चल्नु पर्छ, हाम्रो उद्देश्य पार्टी संगठन बलियो र एकतासहितको हुनुपर्छ भन्ने हो’ पोमूले भने। उनले सबै नेता कार्यकर्ताको सम्मानजनक सहभागिताले मात्र पार्टी संगठन बलियो हुने समेत बताएका छन्। पोमू एमालेको कोशी प्रदेश पर्यटन विभागका सचिव हुन् ।

राष्ट्रिय युवा संघ नेपाल ताप्लेजुङको दसौँ जिल्ला अधिवेशनको नेतृत्व चयनको बिषयमा दुई पक्षबिच कुर्सी हानाहानको घटनापछि बसेको कोशी प्रदेश कमिटीको बैठकले नेताहरु अधिवेशनको क्रममा आएको विवादका बिषयमा छानबिन गर्न तीन सदस्यीय कमिटी बनाएको छ ।

एमाले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाका अनुसार घटना छानबिनका लागि उपाध्यक्ष टीकाराम चेम्जोङको संयोजकत्वमा समिति बनेको छ । समितिलाई घटनाको छानबिन गरी प्रतिवेदन पेश गर्न एक महिनाको समय दिइएको छ । एमाले प्रदेश कमिटी अध्यक्ष खतिवडाका अनुसार छानबिन समितिले प्रतिवेदन पेश गरी अर्को निर्णय नभइन्जेल सम्मका लागि साम्सोहाङलाई कोशी प्रदेश कमिटीको सल्लाहकार परिषद् सदस्यबाट निलम्बन गरिएको छ ।

खतिवडाका अनुसार पोमूलाई भने छानबिन समितिले प्रतिवेदन पेश गरी अर्को निर्णय नभइन्जेल सम्मका लागि पार्टीको सङ्गठित सदस्यबाट समेत निलम्बन गरिएको छ।

‘महिना दिनका लागि निलम्बन होइन,छानबिन समितिले प्रतिवेदन पेश गरेर त्यस उपर अर्को निर्णय नभईञ्जेलसम्मका लागि हो’ खतिवडाले भने।

प्रकाशित: २४ वैशाख २०८२ १२:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App