उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले लोकतान्त्रिक शासन व्यवस्थाले धार्मिक स्वतन्त्रताको ग्यारेन्टी गर्ने बताएका छन्।
शनिबार काठमाडौंको घट्टेकुलोमा महाप्रज्ञा आश्रम (विहार) को उद्घाटन कार्यक्रममा बोल्दै उनले जनता सार्वभौमसत्ता सम्पन्न भएपछि आफूले चाहेको धर्म मान्ने स्वतन्त्रता सुरक्षित भएको उल्लेख गरे।
सिंहले नवनिर्मित विहारको उद्घाटन समेत गरे। उक्त विहार सन् १९७३ मा नेपालका प्रथम थेरवाद भिक्षु महाप्रज्ञाले स्थापना गरेका थिए।
बागमती प्रदेश सरकारको सहयोगमा पुनर्निर्माण गरिएको यो विहारको इतिहास उल्लेख गर्दै सिंहले बुद्ध धर्म प्रचार गरेको कारण महाप्रज्ञा दुई पटक देश निकाला भएको स्मरण गरे। “अहिले त्यस्तो अवस्था छैन, सबैले आफ्नो इच्छाअनुसार धर्म मान्ने स्वतन्त्रता छ,” उनले भने।
उनले महाप्रज्ञाको जीवनबाट कठिन परिस्थितिमा पनि आस्था र निष्ठामा अडिग रहनुपर्ने शिक्षा लिन सकिने बताए। समाजमा नकारात्मकता बढिरहेको भन्दै सिंहले भगवानले मानवलाई जन्मजात दिएको विवेकको प्रयोग गरी सत्य र असत्य छुट्याउन आग्रह गरे।
“विवेकले सहि र गलत छुट्याउन सकिन्छ, त्यसको उपयोग गर्नुपर्छ,” उनले भने।
प्रकाशित: २० वैशाख २०८२ १६:४० शनिबार





