नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले महिला सक्रिय भए सजिलै चुनाव जितिने टिप्पणी गरेका छन्। शनिवारका माओवादी केन्द्रको काठमाडौंको दक्षिणकाली नगर समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै दाहालले यस्तो बताएका हुन्।
‘महिलाहरू सक्रिय भए चुनाव सजिलै जितिन्छ भन्ने मलाई थाहा छ,’ दाहालले भने, ‘०६४ मा महिला सक्रिय भएकै कारण माओवादी पहिलो दल बनेको हो। अहिले पनि मलाई त्यस्तै महसुस भइरहेको छ।’
आफू भूमिगतबाट पहिलो पटक सार्वजनिक हुँदा सबैभन्दा बढी महिला प्रभावित भएको दाहालले दाबी गरे । उनले भने, ‘जति बेला म बालुवाटारमा पहिलो पटक सार्वजनिक भएँ, सबैभन्दा बढी महिलाहरू प्रभावित भएका थिए।’
त्यो बेला आफूले दिएको भाषणको महिलामा सिधा असर परेको पनि उनले टिप्पणी गरे । ‘मेरो वक्तव्यको सिधा असर महिलाहरूलाई प¥यो। महिलाले हाम्रो दाइजस्तै, हाम्रो भाइ जस्तै, बुबा जस्तै भनेर महिलाहरूलाई परेको थियो। त्यसपछि पुरुषहरूको केही लागेन हामी जित्यौँ,’ अध्यक्ष दाहालले भने।
प्रकाशित: २० वैशाख २०८२ १३:३८ शनिबार





