नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले जनमत पार्टीसँग भोलि (वैशाख १७) एकता घोषणा हुने बताएकी छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत उनले जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतसँगको सहकार्यमा मधेश र सुदूरपश्चिमका पीडित जनताको आवाज बुलन्द गर्ने संकल्प व्यक्त गर्दै आफूले सह–अध्यक्षको भूमिका स्वीकार्ने घोषणा गरिन्।
श्रेष्ठले यस एकतालाई दुई दलको मिलन मात्र नभई साझा पीडा र आशाको ऐतिहासिक क्षण भएको बताइन्। “हामीले अन्याय र चोट खेपेका छौं, तर अब हाम्रो आवाज फुट्ने छैन। यो एकता सुदूरपश्चिमको पहाडदेखि मधेशको तराईसम्म जनताको आँखामा उज्यालो ल्याउने प्रयास हो,” उनले भनिन्।
उनले डा. राउतको बौद्धिक र दूरदर्शी नेतृत्वमा जनताको पक्षमा निष्कलंक काम गर्ने विश्वास व्यक्त गरिन्। पदभन्दा जनताको भरोसा र बलिदान ठूलो भएको भन्दै सह–अध्यक्ष बन्ने निर्णयले केहीलाई भावनात्मक असर पर्न सक्ने बताउँदै उनले सबैलाई एकताको बाटोमा अघि बढ्न आग्रह गरिन्।
एकतापछि पार्टीको नीति, विधि र अनुशासनमा बाँधिएर व्यक्तिगत स्वार्थभन्दा माथि उठी जनहितमा काम गर्नुपर्ने उनको जोड छ। श्रेष्ठले यो एकताले देशभर सन्देश फैलाउने र जनता, न्याय र समताका लागि साझा संघर्ष गर्ने बताइन्। “हामी फुट्ने र झुक्ने छैनौं, किनभने हामी अब एउटा सपनाका लागि एक भएका छौं,” उनले भनेकी छन्।
प्रकाशित: १६ वैशाख २०८२ २१:०१ मंगलबार





