७ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
राजनीति

राजसंस्था पक्षधरको ऐतिहासिक एकता: लिङ्देनको नेतृत्वमा थापाको समर्थन

<br>

राजसंस्था पुन:स्थापनाको एजेन्डा बोकेका विभिन्न दल र अभियानका नेताहरूले एकताको सन्देश दिँदै काठमाडौंको शान्तिवाटिकामा सोमबार ऐतिहासिक सभा सम्पन्न गरेका छन्।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्व स्वीकार गर्दै सबै राजसंस्था पक्षधर शक्तिहरूलाई एकजुट बनाउन आह्वान गरे।

राप्रपा, राप्रपा नेपाल, संयुक्त जनआन्दोलन समिति र राष्ट्रिय शक्ति नेपालले आयोजना गरेको सभामा थापा र लिङ्देनले एकै मञ्चमा हातेमालो गर्दै एकताको सन्देश दिए।

कार्यक्रममा राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्ट, संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री धवलशम्शेर राणा, कुन्ति शाही, विपी कांग्रेसका महामन्त्री देवेन्द्र पौडेल र शिवसेनाकी उपाध्यक्ष गंगा चौधरी सहभागी थिए।

प्रदर्शनकारीहरूले ‘आस्थाका बन्दी’ को रिहाइ र धर्मनिरपेक्षता तथा गणतन्त्रविरुद्ध बन्देज लगाउने कानुनको विरोधमा नाराबाजी गरे।

थापाले मञ्चमा सबै नेतालाई पालैपालो बोलाएर एकताको सन्देशलाई थप बलियो बनाए। चार नेताहरू–थापा, लिङ्देन, सुवेदी र विष्टले संयुक्त रूपमा हात उठाएर कार्यकर्तामा उत्साह भरे।

विगतमा राप्रपाको आन्तरिक विवादमा लिङ्देनसँग पराजित भएपछि थापाले निर्मल निवासको हस्तक्षेप भएको आरोप लगाउँदै नयाँ पार्टी गठन गरेका थिए।

तर, पछिल्लो समय राजसंस्था पुन:स्थापनाको एजेन्डाले दुवै नजिकिएका छन्। गत चैत १५ मा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र दुर्गा प्रसाईं थुनामा छन्। धवलशम्शेर राणा भने हाजिरी जमानीमा रिहा भएर कार्यक्रममा सहभागी भए।

थापाले राजसंस्था पक्षधर आन्दोलनलाई नयाँ उचाइ दिन लिङ्देनको नेतृत्वमा सबै शक्तिलाई समेट्नुपर्ने जोड दिए। सभाले गणतन्त्र र धर्मनिरपेक्षताविरुद्धको अभियानलाई थप संगठित बनाउने संकल्प गरेको छ।

सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक

प्रकाशित: १५ वैशाख २०८२ १६:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App