उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि बेलायतका राजदूत रोबर्ट डोंमिनिक रुसेल फेनले शिष्टाचार भेटवार्ता गरेका छन् । काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा सोमबार भएको भेटमा द्विपक्षीय सम्बन्धका विविध आयामका विषयमा कुराकानी भएको थियो ।
उपराष्ट्रपति यादवले नेपाल र संयुक्त अधिराज्यबीच सदियौँदेखि रहिआएको घनिष्ठ सम्बन्धको चर्चा गर्दै सन् १८१६ मा कूटनीतिक सम्बन्ध स्थापित भएपछि आपसी सम्बन्ध आजको दिनसम्म सुमधुर र प्रगाढ रहेको बताए । नेपाल र संयुक्त अधिराज्यबीच भएको शान्ति तथा मैत्री सन्धिको १००औं वर्षगाँठ सन् २०२३ मा विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाएको उनले स्मरण गरे ।
उनले संयुक्त अधिराज्यलाई नेपालको प्रमुख विकास साझेदारको रूपमा उल्लेख गर्दै विपद्का घडीमा नेपाललाई प्रदान गरिएको सहयोगको लागि धन्यवाद दिए । ‘हाम्रा दुई मुलुकबीच राजनीतिक, आर्थिक, सांस्कृतिक सम्बन्ध तथा जनस्तरमा रहेको मित्रता अद्वितीय छ, पछिल्ला दिनहरुमा यो थप प्रगाढ हुँदै गएको छ’उपराष्ट्रपति यादवले भने, ‘ब्रिटिस गोर्खाले द्विपक्षीय जनस्तरको सम्बन्ध सुदृढ गर्न पुर्याएको योगदानको सराहना गर्दछु ।’
उनले पूर्व ब्रिटिस गोर्खाका जायज गुनासा सम्बोधनका लागि कूटनीतिक तहमा भइरहेका छलफललाई समयमै टुंगोमा पुर्याउन आवश्यक रहेको बताए । जलवायु परिवर्तन र विश्व परिवेशमा देखा पर्नसक्ने मुद्दाका विषयमा बहस चलाउने उद्देश्यले नेपालले स्थापना गरेको ‘सगरमाथा संवाद’को चर्चा गर्दै उपराष्ट्रपति यादवले भने, ‘ यही मे १६ देखि १८ सम्म काठमाडौंमा आयोजना हुने यो संवादको पहिलो संस्करणमा “जलवायु परिवर्तन, हिमाल र मानवको भविष्य” विषयमा संयुक्त अधिराज्यबाट उच्चस्तरीय सहभागिता हुने अपेक्षा छ ।’
उपराष्ट्रपति यादवले राजदूतमार्फत संयुक्त अधिराज्यका राजा चार्ल्स र महारानी क्यामिलालाई व्यक्तिगत सुख एवं सुस्वास्थ्यको शुभकामना सन्देश पनि पठाएका छन् ।
भेटमा राजदूत फेनले नेपाल र संयुक्त अधिराज्यसंगसंगै काम गर्ने घनिष्ट मित्र रहेको उल्लेख गर्दै नेपालले गर्न लागेको ‘सगरमाथा संवाद’लाई बेलायतको सहयोग रहने बताए । ‘ उद्योग र आर्थिक मुद्दाहरुमा लण्डनस्थित नेपाली दूतावाससँग बेलायत निरन्तर संवादमा छ’ उनले भने, ‘ब्रिटिश गोर्खाको सेवा र सुविधालगायतका विषयमा पनि लण्डनस्थित नेपाली दूतावाससंग संवाद जारी राखेर समस्या समाधानको प्रयास भई रहेको छ ।’
प्रकाशित: १५ वैशाख २०८२ १६:३६ सोमबार





