चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनका संयोजक नवराज सुवेदीले त्यो दिनको घटना सरकारकै कदमले भएको दाबी गरेका छन्। सोमबार कमल थापा नेतृत्वको राप्रपा नेपालले काठमाडौंमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै सुवेदीले यस्तो दाबी गरेका हुन्।
‘एक महिना अगाडि तीनकुने जुन घटना घट्यो, त्यो निर्दयी, त्यो क्रूर, त्यो तानाशाही सरकारको कदम थियो,’ सुवेदीले भने,‘कार्यक्रम सुरु हुनुअघि राष्ट्रिय गान बजाइरहेको थियो त्यहाँ अन्धाधुन्ध गोली चलाइयो, अश्रु ग्यास प्रहार गरियो, आदि इत्यादि गरियो। त्यो दुनियाँका अगाडि थाहा छ।’
त्यो बेला राजावादीहरूलाई अत्याचारी देखाउन खोजिएको सुवेदीले बताए। उनले भने, ‘त्यो बेलामा हामी राजावादीहरूलाई अत्याचार गरे भनेर देखाउन खोजियो । तर हिजो शिक्षकहरुकोमा त्यही कुराको पुष्टि भयो कति अत्याचारी यो सरकार छ।’
प्रकाशित: १५ वैशाख २०८२ १४:५९ सोमबार





