१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

‘अबको चुनावमा माओवादी आफ्नै खुट्टामा उभिन्छ’

सभालाई सम्बोधन गर्दै दाहाल। तस्बिर: अर्जुन ओली/नागरिक

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब आउने चुनावमा माओवादी आफ्नै खुट्टामा उभिने बताएका छन्।

‘कांग्रेस र एमालेसँग समीकरण गरेर फाइदा जति कांग्रेस र एमालेले उठाए, घाटा माओवादीलाई भयो, अब हामी उनको खुट्टामा उभिने छैनौं,’ जनतासँग माओवादी तराई मधेस जागरण अभियान अन्तर्गत आइतबार बाँकेको राप्ती सोनारी–६ फत्तेपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले भने।

माओवादी आफ्नै खुट्टामा उभिएर अगाडी बढ्दा केही परिणाम उप–चुनाव र स्ववियु निर्वाचनबाट देखा परिसकेको अध्यक्ष दाहालले सुनाए।

आयोजित सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल। तस्बिर: अर्जुन ओली/नागरिक

उनले थपे, ‘हामी एक्लै अगाडी बढ्दा नै जनताले साथ दिन्छ भन्ने प्रमाणित भयो, उप–चुनाव र स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा कांग्रेस र एमाले मिल्दा हामी एक्लै लड्दा पनि जित्यौँ।’ माओवादी केन्द्र २०८४ मा विजयी हुनैपर्ने अध्यक्ष दाहालले बताए।

‘समाजवादी क्रान्तिको झण्डा गाडेर मात्र माथि जाने भनेर म दौडेको तपाईँहरूले देखिराख्नु भएको छ, तपाईँहरूले सङ्कल्प गरिदिनु भयो भने ७ महिनामै नेपालको रूप बदलिदिन्छौं,’ पुर्वप्रधानमन्त्री समेत रहेका दाहालले भने।

माओवादीलाई २०८४ मा विजयी गराउन अहिले देखी नै जनताको घर–घरमा पुग्न नेता तथा कार्यकर्तालाई उनले निर्देशन दिए। ‘धेरै ठाउँमा जित्ने अवस्था देखिरहेको छ, जनयुद्धमा जस्तै मेहनत गर्नुस् एक पटक,’ उनले भने ‘जनताको घरमा गएर क्षमा याचना गर्ने, हामी फेरी एक पटक तपाईंहरुको निम्ति नयाँ आन्दोलनबाट आउँदैछौं भनेर भन्नुस्।’ आफू प्रधानमन्त्री भएर सरकारको नेतृत्व गर्दा जनतामा विश्वास पैदा भएको दाहालले जिकिर गरे।

आयोजित सभामा उपस्थितहरु। तस्बिर: अर्जुन ओली/नागरिक

‘हामीले सामाजिक न्यायका पक्षमा पनि केही कदमहरू गम्भीर ढंगले उठायौँ, चाहे त्यो नागरिकताको समस्या समाधानको कुरा होस्, चाहे मिटरब्याजी समस्या समाधान होस्, यी तमाम विषयमा हामीले गम्भीर ढंगले उठायौँ।’

अर्को प्रसङ्गमा पूर्वप्रधानमन्त्री दाहालले सरकार शिक्षकका समस्या समाधान गर्नेभन्दा समस्या बल्झाउने र झन् समस्या थोपार्नेतिर अगाडी बढेको आरोप लगाए। प्रधानमन्त्रीको रवैया शिक्षकका समस्या समाधान गर्नेतिर नभएको उनले बताए।

‘सर्वोच्च अदालतले शिक्षकका समस्या तीन दिनभित्र समाधान गरेर विद्यालय फर्किने वातावरण बनाऊ भनेर सरकारका नाममा आदेश दिएको छ, सरकारले यसलाई ढिला नगरोस्, मैले सरकारमा सहभागी पार्टीका नेताहरूसँग कुरा गरेको छु, मन्त्रीसँग कुरा गरेको छु,’ दाहालले भने ‘शिक्षकको समस्या समाधान गरेर विद्यालय सुचारु गर्ने वातावरण बनाउनको लागि विशेष रुपले आग्रह गरेको छु। म आशा गर्छु, सरकार गम्भीर हुनेछ।’

सरकारले शिक्षकको आन्दोलनलाई गम्भीर रुपले लिएन भने यसले निकै नराम्रो रूप लिन सक्ने उनले चेतावनी दिए।

प्रकाशित: १४ वैशाख २०८२ १९:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App