२६ वैशाख २०८३ शनिबार
image/svg+xml
राजनीति

मेटाले ‘नेपालको कानुन मान्दिनँ’ भन्न मिल्दैन : सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चलचित्र क्षेत्रको सुधार र आधुनिकीकरणका लागि नयाँ ‘चलचित्र ऐन’ चाँडै ल्याइने बताएका छन्। उनले आज राष्ट्रियसभामा यो ऐन पेस गर्ने बताए।

शनिबार ललितपुरमा आयोजित नेपाल चलचित्र सङ्घको ५०औँ वार्षिक साधारणसभामा मन्त्री गुरुङले २०२६ सालको ‘चलचित्र ऐन’ परिमार्जन भएपछि चलचित्रकर्मीले भोगेका अवरोध हट्ने बताए।

उनले भने, ‘नयाँ चलचित्र ऐन टेबल गर्दैछु। सञ्चार मन्त्रालयमा आएपछि पुरानो नीति र कानुनले दिएको कठिनाइ बुझेर परिमार्जनमा लागेको छु। रेडियो नेपाल, नेपाल टेलिभिजन, हुलाक, रासस, सञ्चार क्षेत्रका संस्थाहरूको नीति र कानुन पञ्चायतकालको छ। यसमा काम गर्नुपर्छ, हामी गरिरहेका छौँ।’

मन्त्री गुरुङले एक साताभित्र नेपालको कानुनअनुसार दर्ता नभए ‘मेटा’लाई नेपालमा प्रतिबन्ध लगाउने बताए। मेटाले आफ्नो आम्दानी नेपालको कुल गार्हस्थ्य उत्पादनभन्दा धेरै भएको उल्लेख गरेको बताउँदै उनले मुलुकको स्वाधीनता पैसासँग जोड्न नसकिने बताए।

‘मेटा भन्नेबित्तिकै फेसबुक, म्यासेन्जर, ह्वाट्सएप, इन्स्टाग्राम होलान्, चलिरहेका छन्। तर, नेपालको कानुन मान्दिनँ भन्न मिल्दैन, हाम्रो कानुनअनुसार दर्ता भई सञ्चालन हुनुपर्छ। यहाँ दर्ता र कर तिर्नुपर्दैन? गलत कन्टेनले राष्ट्रिय स्वाधीनताविरुद्ध बोले समाजमा ठूलो प्रभाव पर्छ। त्यसैले तिनको नियमन हुनुपर्छ,’ मन्त्री गुरुङले भने।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले आफूले पद सम्हालेपछि भनिरहेका तीन काम अन्तिम चरणमा रहेको बताए। ‘चलचित्र क्षेत्रको पहिलो समस्या नयाँ चलचित्र ऐन थियो, जुन चाँडै पाउने सुनिश्चित भएको छ। नेपालकै ठूलो स्टुडियो बनाउने कुरा बोलपत्र प्रक्रियाबाट अगाडि बढेर शिलान्यास हुँदैछ। चलचित्र भवनमा टिकटको विवरण र ‘बक्स अफिस’मा रियल टाइम डाटा उपलब्ध हुने छ,’ उनले भने। डिसीले चलचित्र क्षेत्रका समस्यालाई क्रमबद्ध समाधान गर्ने बताए।

नेपाल चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनले चलचित्र हेर्ने संस्कृतिको विकासमा सङ्घको भूमिकाबारे चर्चा गरे। ‘हामीले प्रिन्ट बोकेर चलचित्र देखेका छौँ, अहिले डिजिटल प्रविधि आएको छ। समयअनुसार परिमार्जित भएर अगाडि बढिरहेका छौँ। नेपालबाहेक अन्य देशमा चलचित्र हेर्ने दर्शकलाई उस्तै सुविधा दिने प्रयत्न गर्छौं। भइरहेका कठिनाइलाई चलचित्र विकास बोर्डमार्फत मन्त्रालयमा जानकारी गराउँछौँ,’ महर्जनले भने।

कार्यक्रममा सङ्घमा योगदान गर्ने ११ जनालाई सम्मान गरियो। सङ्गीतकार शम्भुजित बाँस्कोटा, अभिनेता हरिवंश आचार्य, हास्य कलाकार किरण केसी, निर्देशक पुर्णेन्दु झा, सम्झना उप्रेती रौनियार, प्रचण्डमान श्रेष्ठ, रेनाशा वान्तवा राई, अभिनेत्री रेखा थापालगायत देशभरका चलचित्र भवन सञ्चालक उपस्थित थिए। रासस

प्रकाशित: १४ वैशाख २०८२ ०७:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App