जनता समाजवादी पार्टी (जसपा) नेपालको नगर र गाउँ समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित भएको छ। कोशी प्रदेशअन्तर्गतका ९ गाउँ समिति र २ नगर समिति गरी ११ पालिका समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित गरिएको प्रचार विभागले जानकारी दिएको छ।
ओखलढुंगा जिल्लाको, मानेभञ्ज्याङ गाउँपालिकाको अधिवेशनबाट शेरबहादुर राईको अध्यक्षतामा १५ सदस्यीय गाउँ समिति निर्वाचित भएको छ। प्रकाश राईको अध्यक्षतामा चिसङ्खुगढी गाउँपालिका र कुसाङ शेर्पाको अध्यक्षतामा २१ सदस्यीय खिजिदेम्बा गाउँ समिति निर्वाचित भएको छ।
त्यसैगरी नरेश राईको अध्यक्षतामा २८ सदस्यीय भोजपुरको हतुवागढी गाउँ समिति र केबी चेम्जोङको अध्यक्षतामा २४ सदस्यीय पाँचथरको फाल्गुनन्द गाउँ समिति निर्वाचित भएको बताइएको छ।
अग्नी कुलुङको अध्यक्षतामा १५ सदस्यीय सोलुखुम्बुको महाकुलुङ गाउँ समिति निर्वाचित भएको छ। योगेन्द साम्पाङ राईको अध्यक्षतामा धनकुटाको सहिदभूमि गाउँ समितिको नयाँ नेतृत्व निर्वाचित भएको छ।
मोरङको जहदा गाउँपालिका र बुढीगंगा गाउँपालिका, ओखलढुंगाको सिद्धिचरण नगरपालिका र सुनसरीको इनरुवा नगर अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित गरिएको छ।
प्रकाशित: १४ वैशाख २०८२ ०७:३२ आइतबार





