‘२०७२ को भूकम्पपश्चात् पुनर्निर्माणको एक दशकको पुनरावलोकन’ र अन्तर्राष्ट्रिय वैज्ञानिक समितिको तेस्रो वार्षिक बैठक सम्पन्न भएको छ। भक्तपुर नगरपालिका र पुरातत्व विभागको संयुक्त आयोजनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले उद्घाटन गरेका हुन्।
मन्त्री पाण्डेले काठमाडौं उपत्यकाका सम्पदाहरू केवल सम्पदा नभई सभ्यताको पहिचान र परिचयको आधार भएको बताए। ‘उपत्यकाका भौतिक र अभौतिक सम्पदाहरूको इतिहासले देशको गर्विलो इतिहास उजागर गर्छ,’ उनले भने। भूकम्पले क्षति पुगेका सम्पदाहरू मौलिक शैलीमा पुनर्निर्माण हुनु गौरवको विषय भएको उनको भनाइ थियो।
सम्पदाप्रति नयाँ पुस्तामा आस्था र मोह जगाउन सम्पदासम्बन्धी चित्रकला प्रतियोगिता आयोजना गरिएको उनले बताए। ‘सम्पदाको महत्वबारे नयाँ पुस्तालाई जानकारी दिँदै हस्तान्तरण गर्नुपर्छ,’ उनले जोड दिए। सम्पदाहरूलाई स्थानीय हुँदै विश्वव्यापी मान्यतासँग जोड्नुपर्ने बताउँदै मन्त्री पाण्डेले तिनको विश्वव्यापी प्रचारप्रसारमा सरोकारवालाहरूले ध्यान दिनुपर्ने बताए।
सो अवसरमा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले भूकम्पीय जोखिम कम गर्ने प्रविधिसहित पूर्वाधार निर्माण आजको आवश्यकता भएकोमा जोड दिएका थिए।
प्रकाशित: १२ वैशाख २०८२ १९:५२ शुक्रबार