१० पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

एमालेका ७० नेता कार्यकर्ताद्वारा सामूहिक राजीनामा, रावल नेतृत्वको अभियानमा जोडिए

नेकपा (एमाले) का सुदूरपश्चिम प्रदेश लेखा कमिटी सदस्य बालागिरी कुँवरसहित ७० नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्। एक विज्ञप्तीमार्फत उनले ३५ वर्ष लामो पार्टी यात्रा त्याग्दै मातृभूमि जागरण अभियानमा सहभागी हुने घोषणा गरेको घोषणा गरेका छन्। 

२०३६ सालदेखि बहुदलीय व्यवस्थाका लागि सुरु भएको आफ्नो राजनीतिक यात्रा २०४६ को परिवर्तन, जनयुद्धको कठिन समय, र डा. भीम रावलको नेतृत्वमा चलेको शान्ति अभियान हुँदै विभिन्न चुनौतीपूर्ण क्षणहरूबाट गुज्रिएको स्मरण पनि उनले गरेका छन्। 

दुई पटक (२०५४ र २०७४) वडा अध्यक्षको जिम्मेवारी सम्हाल्दै जनमुखी विकास निर्माणमा योगदान गरेका कुँवरले समाजवाद र साम्यवादको सपना बोकेर जनताको घरदैलोमा पुगे पनि त्यस्तो नभएको गुनासो गरेका छन्। 

एमाले अध्यक्ष केपी शर्मा ओलीको गुटबन्दी, निरङ्कुश कार्यशैली, पार्टीभित्र आन्तरिक लोकतन्त्रको अभाव, भ्रष्टाचारमा संलग्न नेताहरूलाई संरक्षण, र जनवादी मूल्यहरूको अवमूल्यनले आफू पार्टी छोड्ने निर्णयमा पुगेको उनीसहितका नेताहरूले जारी गरेको वक्तव्यमा उल्लेख छ। 

नेता रावल संयोजक रहेको मातृभूमि जागरण अभियानले भ्रष्टाचारको अन्त, राष्ट्रियता संरक्षण, सुशासन, र समृद्ध नेपालको परिकल्पना साकार पार्ने लक्ष्य राखेको पनि उल्लेख गरिएको छ। उनले इमानदार नेता, कार्यकर्ता, र जनतालाई यो अभियानमा सहभागी भई वैकल्पिक शक्तिको रूपमा स्थापित गर्न अपिल गरेका छन्। रावलको अभियानमा एकीकृत समाजवादीबाट पनि ५ जना जोडिएका छन्। 

प्रकाशित: ७ वैशाख २०८२ १२:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App