राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपालले विगतमा नेपालको आफ्नै ‘वाद’(राजनीतिक सिद्धान्त) नभएको भन्दै अब पृथ्वी पथ घोषणा भएको बताएका छन्। शनिवार राजावादीहरूले आयोजना गरेको ‘पृथ्वी पथको आवश्यकता विषयक’ कार्यक्रममा सम्बोधन गर्दै प्रवक्ता नेपालले यस्तो बताएका हुन्।
‘धेरैले रोडम्याप खोइ भनिरहेको सन्दर्भमा नयाँ वर्षको शुभकामनामा ज्ञापित सन्देशमा रोडम्याप प्राप्त भएको छ,’ प्रवक्ता नेपालले भने, ‘नेपालको आफ्नै वाद थिएन, नेपालको आफ्नै पथ थिएन। नेपालको आफ्नै सिद्धान्त थिएन।’
उनले विगतमा नेपालका कम्युनिस्टले विदेशका वाद प्रयोग गरिरहेको उनले टिप्पणी गरे । ‘जर्मनीमा जन्मिएका मार्क्सको नाममा मार्क्सवादी जर्मनीको वाद थियो, नेपालको वाद थिएन। मार्क्सवादी नेपालको वादी थिएनन्। नामैले रसियाको लेनिनको नाममा खुलेको लेनिनवाद र लेनिनवादीहरू नेपाली थिएनन्, होइनन्, रहनेछैनन्। नामैले चाइनाको माओको नाममा खुलेको माओवाद–माओवादी नेपालको वाद र वादी थिएनन्,’ उनले भने।
पहिलो पटक नेपालको वाद पृथ्वी पथ भन्दै पूर्व राजा ज्ञानेन्द्र शाहबाट प्रस्ताव आएको प्रवक्ता नेपालले टिप्पणी गरे । उनले भने, ‘नेपालको आफ्नै मुखर रूपमा पहिलो पटक औपचारिक रूपमा ज्ञानेन्द्र महाराजबाट अब नेपालको मूल वाद, मूल पथ पृथ्वी पथ हुने छ हुकुम भएको छ। र, यो नै नेपालको अबको वाद हो, अबको पथ हो।’
प्रकाशित: ६ वैशाख २०८२ १४:४३ शनिबार


![गगन थापा विशेष महाधिवेशन स्थल पुगे [तस्बिर]](https://images.nagariknewscdn.com/thumbs/2025/third-party/1768386599_Gagan (3)-600x400.jpg)


