३० जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
राजनीति

नेपाली कांग्रेस बीपी पनि राजसंस्थाको पक्षमा, गंगा चौधरीसमेत मिसिइन्

<br>

नेपाली कांग्रेस 'बीपी' ले डा. जगमान गुरुङ नेतृत्वको राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले गर्ने राजावादी आन्दोलनमा ऐक्यबद्धता र समर्थन जनाएको छ।

बीपी कोइरालाले राजसंस्था बिनाको प्रजातन्त्रको परिकल्पना नगरेको उल्लेख गर्दै नेपाली कांग्रेस बीपीका उपसभापति कर्ण मल्लले समितिले गर्ने राजावादी आन्दोलनमा आफूहरूको ऐक्यबद्धता र समर्थन रहेको बताए। 

"कुनै बेला बीपी कोइरालाले 'राजसंस्था बिना प्रजातन्त्र मात्रै रह्यो भने देश रहँदैन' भनेर भन्नुभएको थियो। नेपाली कांग्रेस बीपी त्यसमा अडिग छ। अहिले विभिन्न नाउँमा जे-जे आन्दोलनहरू भइरहेका छन्, त्यसबाट नेपाल र नेपालीलाई मुक्त गर्नुपर्छ भन्ने हामीलाई लाग्दछ। त्यसैले यो आन्दोलनका प्रति हाम्रो समर्थन र ऐक्यबद्धता छ," उपसभापति मल्लले नागरिकसँग भने।

उपसभापति मल्ल बुधबार (आज) समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा पनि सहभागी भएका थिए। डा. जगमान गुरुङले बोलाएपछि र पार्टी सभापति सुशीलमान शेरचनले पठाएपछि आफू सम्मेलनमा उपस्थित भएको उनले सुनाए। 'डा. जगमान गुरुङले बोलाउनुभएपछि म गएको हुँ,' उनले भने, 'अब अर्को मुक्तिको क्रान्ति सफल पार्नुपर्छ।'

उनले इतिहासमा पनि राजाकै नेतृत्व र संयोजनमा विभिन्न क्रान्तिहरू सफल हुँदै आएको दाबी गरे। 'राजा पृथ्वीनारायण शाहको नेतृत्वमा एउटा क्रान्ति सफल भएको थियो। पछि त्रिभुवनको नेतृत्वमा २००७ सालमा अर्को क्रान्ति सफल भयो। त्यहाँ नेपाली कांग्रेसका नेताहरूले पनि योगदान गर्नुभयो। २०४६ सालमा राजा वीरेन्द्रको संयोजनामा गणेशमान सिंहहरूको योगदानमा अर्को क्रान्ति सफल भयो। र, गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा शान्ति प्रक्रिया भयो, त्यसबेला अहिलेकै राजा पनि हुनुहुन्थ्यो,' उनले भने।

डा. जगमान गुरुङ।

यी ऐतिहासिक कुरालाई आधार मानेर अब डा. जगमान गुरुङको नेतृत्वमा अर्को क्रान्ति सफल पार्नुपर्ने उनी बताउँछन्। 'अत्यन्तै धार्मिक व्यक्तित्व, उमेरले झन्डै ८० पुग्नुभएका डा. जगमान गुरुङको संयोजनमा नेपाल र नेपालीले जुन पीडा भोगिरहेका छन्, त्यसबाट मुक्ति पाउँ भन्ने नेपाली कांग्रेस बीपी ठान्दछ,' उपसभापति मल्लले भने।

गंगा चौधरी पनि मिसिइन्

पूर्वसांसद गंगा चौधरी पनि राजावादी आन्दोलनमा मिसिएकी छन्। उनी पनि आजको पत्रकार सम्मेलनमा सहभागी भएकी थिइन्।

उनले आफू शिवसेना नेपालको तर्फबाट सम्मेलनमा सहभागी भएको नागरिकसँग बताइन्। उनले आफूहरूको पनि समर्थन रहेको बताइन्। यो आन्दोलन देश बचाउने आन्दोलन भएको उल्लेख गर्दै भनिन्, 'यो देश बचाउने र बेच्नेबीचको लडाइँ हो, यसमा हाम्रो समर्थन रहेको छ।'

नेपालको झण्डामुनि हुने कुनै पनि आन्दोलनमा शिवसेना नेपाल र आफ्नो समर्थन रहने उनले बताइन्। 'यो आन्दोलन नेपालको झण्डामुनि हुने आन्दोलन हो। नेपालको झण्डामुनि हुने कुनै पनि आन्दोलनमा हाम्रो समर्थन रहन्छ,' उनले भनिन्।

चौधरी पूर्वसांसद हुन्। २०७४ को आम निर्वाचनको मुखमा नेकपा (एमाले) प्रवेश गरेकी चौधरी समानुपातिक सांसद बनिन्। त्यसबीचमा एमाले र माओवादी केन्द्रबीच एकता भयो। उनी झन् ठूलो पार्टीकी सांसद बनिन्। तर, बेला-बेला उनको अभिव्यक्ति विवादित बन्थ्यो। पछि उनी पार्टीबाट अलग्गिइन्, अहिले चौधरी शिवसेना नेपालमा आबद्ध छिन्। यो एक राजनीतिक दल हो।

प्रकाशित: २७ चैत्र २०८१ १८:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App