२० चैत्र २०८१ बुधबार
image/svg+xml २१:० अपराह्न
राजनीति

राप्रपामाथि तत्काल प्रतिबन्ध लगाउन माओवादी सांसदको माग

नेकपा (माओवादी केन्द्र)का नेता लेखनाथ दाहाल (राजन दाहाल) ले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) माथि तत्काल प्रतिबन्ध लगाउन माग गरेका छन्। 

आइतबार सामाजिक सञ्जालमा लेख्दै दाहालले संविधानभन्दा माथि कोही छैन भन्दै तत्काल राप्रपालाई प्रतिबन्ध लगाउन र कानुनको दायरामा ल्याउन माग गरेका हुन्।

धवल धम्शेर जबरा र ज्ञानबहादुर शाही अराजक लुटेरा जत्थाको नेतृत्व गरेर हिँडेको देख्न सकिने भएकाले राप्रपाले उनीहरूलाई पार्टीबाट निस्कासित गर्नुपर्ने उनले बताए। 'राप्रपाले पनि कि धवल धम्शेर जबरा र ज्ञानबहादुर शाही जो यो अराजक लुटेरा जत्थाको नेतृत्व गरेर हिँडेको देख्न सकिन्छ। उनीहरूलाई पार्टीबाट निस्कासित गरोस्। हैन भने राप्रपा पनि संस्थागत हिसाबले हत्या, हिंसा र लुटपाटमा लागेको पुष्टि हुन आउँछ,' उनले लेखेका छन्, 'तत्काल राप्रपालाई पनि प्रतिबन्ध लगाइयोस् र कानुनको दायरामा/संविधानको दायरामा ल्याइयोस्। संविधानभन्दा माथि कोही पनि छैन। हेक्का रहोस्।'

यस्तै सांसद दाहालले तिनकुने क्षेत्रको क्रुर, हत्या, हिंसा, लुटपाट र आततायी गतिविधिको मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाह नै भएको दाबी गर्दै ज्ञानेन्द्रलाई पनि तत्काल गिरफ्तार गर्न समेत माग गरे। 

उनले लेखेका छन्, 'तिनकुने क्षेत्रको क्रुर, हत्या, हिंसा,लुटपाट र आततायी गतिविधिको मुख्य जिम्मेवार ज्ञानेन्द्र शाह हो। दुर्गा प्रसाईंलाई कमाण्डर उसैले बनाएको हो। दुर्गा प्रसाईंइको नेतृत्वमा यो आपराधिक घटना भएको र दुर्गा प्रसाईंको नेतृत्व ज्ञानेन्द्र शाहले गरेको हुनाले ज्ञानेन्द्र शाहलाई पनि तत्काल गिरफ्तार गरियोस्।'

प्रकाशित: १७ चैत्र २०८१ ०९:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App