राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबारको जनप्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा प्रधानमन्त्रीले नै हिंसा भड्काउन हौसला दिएको आरोप लगाएको छ।
शनिबार पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकाल्दै सरकारविरुद्ध कडा अडान लिएको हो।
राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रीले प्रदर्शनको अघिल्लो दिन प्रतिकार गर्न आह्वान गरेर हिंसालाई प्रोत्साहन गरेको दाबी गरे।
उनले भने, “शान्तिपूर्ण सभामा सुनियोजित रूपमा अश्रुग्यास प्रहार गरियो। घर र भवनबाट सुरक्षाकर्मीले ताकेर ग्यास हाने, जसबाट सरकारको नियत स्पष्ट हुन्छ। प्रधानमन्त्रीले अघिल्लो दिन प्रतिकार गर्न आह्वान गर्नुभयो, हौसला दिनुभयो। बाघे झाप्पु दिनुपर्छ भनेर हौसला दिनुभयो। त्यसबाट पनि उहाँ हिंसा भड्काउने पक्षमा हुनुहुन्छ भनेर स्पष्ट हुन्छ।”
उनले पत्रकार सुरेश रजकको मृत्यु रोक्न सकिने अवस्था हुँदा पनि सरकार उदासीन बनेको आरोप लगाए।
बैठकले प्रदर्शनमा पक्राउ परेका नेताहरू रविन्द्र मिश्र, धवल शमशेर जबरा र स्वागत नेपाललाई २४ घण्टाभित्र बिनाशर्त रिहाइ गर्न माग गरेको छ। रिहाइ नभए कडा विरोधका कार्यक्रम गर्ने चेतावनी दिइएको छ।
लिङ्देनले थपे, “प्रहरीले गोली चलाउनु नपर्ने ठाउँमा ताकेर हानेको छ। व्यवसायिक भवनमा लुटपाट हुँदा पनि सुरक्षा दिइएन। यी सबैको जिम्मेवार सरकार हो।”
राप्रपाले घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक आयोग गठन गर्नुपर्ने माग गरेको छ। साथै, आन्दोलनमा ज्यान गुमाएका सुरेश रजक र सविन महर्जनलाई शहीद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिनुपर्ने अडान लिएको छ।
पार्टीले हिंसारहित आन्दोलनमा जोड दिँदै सरकारको कदमविरुद्ध थप रणनीति बनाउने जनाएको छ।
प्रकाशित: १६ चैत्र २०८१ १९:२० शनिबार