२० चैत्र २०८१ बुधबार
image/svg+xml ६:३३ पूर्वाह्न
राजनीति

रवीन्द्र र धवललाई २४ घण्टाभित्र रिहा गर्न सरकारलाई राप्रपाको अल्टिमेटम

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबारको जनप्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने निष्कर्ष निकालेको छ।

शनिबार पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकार नै हिंसा भड्काउन उद्दत रहेको ठहर गर्दै घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक आयोग गठन गर्न माग गरेको छ।

पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै शान्तिपूर्ण सभामा सरकारले सुनियोजित रूपमा अश्रुग्यास प्रहार गरेको आरोप लगाए।

उनले भने, “प्रधानमन्त्रीले अघिल्लो दिन प्रतिकार गर्न आह्वान गर्नुभयो, हिंसा भड्काउन हौसला दिनुभयो। मञ्चमा शान्तिपूर्ण कार्यक्रम भइरहँदा ताकेर अश्रुग्यास प्रहार गरियो, जसले सरकार प्रदर्शन भड्काउन चाहन्थ्यो भन्ने स्पष्ट हुन्छ।”

उनले पत्रकार सुरेश रजकलाई बचाउन सकिने अवस्था हुँदा पनि सरकार उदासीन बनेको र प्रहरीले अनावश्यक रूपमा गोली चलाएको दाबी गरे।

राप्रपाले शान्तिपूर्ण प्रदर्शनमा सहभागी नेताहरू रविन्द्र मिश्र, धवल शमशेर जबरा र अधिवक्ता स्वागत नेपाललगायतलाई २४ घण्टाभित्र बिनाशर्त रिहाइ गर्न माग गरेको छ। अध्यक्ष लिङ्देनले रिहाइ नभए विरोधका कार्यक्रम घोषणा गर्ने चेतावनी दिए।

उनले भने, “राप्रपा सधैं हिंसाको विपक्षमा छ, तर हिजोको घटनामा सरकारको संलग्नता छ। व्यवसायिक भवनमा लुटपाट हुँदा पनि सुरक्षाकर्मीले रोक्न सकेनन्।”

बैठकले आन्दोलनका क्रममा ज्यान गुमाएका सुरेश रजक र सविन महर्जनलाई शहीद घोषणा गर्न र परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरेको छ।

साथै, शुक्रबारको घटनालाई लिएर पूर्वराजा शाहलाई राजनीतिमा तान्ने प्रयास रोक्न आग्रह गरेको छ। राप्रपाले सरकारको कदमविरुद्ध थप रणनीति बनाएर अघि बढ्ने जनाएको छ।

प्रकाशित: १६ चैत्र २०८१ १९:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App