भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले देश फेरि अँध्यारो युगतर्फ फर्किन नसक्ने बताएका छन्।
सुखानी शहीद स्मृति प्रतिष्ठानको २० औं वार्षिक साधारण सभालाई शनिबार काठमाडौँमा सम्बोधन गर्दै उनले सहिदहरूको बलिदानीबाट प्राप्त जनाधिकार र स्वतन्त्रता कसैले खोस्न समेत नसक्ने बताए। मन्त्री दाहालले कसैले उदण्डता देखाउँदैमा प्राप्त उपल्धिहरूलाई नागरिकले खोस्न नदिने जिकिर गरे।
‘यो गणतन्त्र र स्वतन्त्रता सहिदहरूको बलिदानी र लाखौं नागरिकको संघर्षबाट प्राप्त भएको हो,’ नेकपा एमालेका पोलिटब्युरो सदस्य समेत रहेका मन्त्री दाहालले भने, ‘सहिदहरूले देखाएको बाटोमा हिँड्नु र प्राप्त उपलब्धिहरूको रक्षा गर्नु हामी सबैको दायित्व हो।’
देशमा केही भएन, गणतन्त्रले केही उपलब्धि दिएन भनेर नागरिकलाई निराश पार्न गलत भाष्य निर्माण गर्न खोजिएको भन्दै उनले गणतन्त्रपछि नै विकास निर्माणले गति लिएको र नागरिकहरू राजनीतिक रूपमा पनि अधिकार सम्पन्न भएको उल्लेख गरे।
प्रकाशित: १६ चैत्र २०८१ १६:१३ शनिबार