२० चैत्र २०८१ बुधबार
image/svg+xml ८:३६ पूर्वाह्न
राजनीति

'भित्र मान्छे छ भन्ने थाहा हुँदा पनि आगो लगाए, नागरिकको ज्यान जोगाउन बल प्रयोग गर्नुपर्‍यो'

गृहमन्त्री रमेश लेखकले राजावादीले गरेको आक्रमण र हत्याको कानूनअनुसार कारबाही हुने बताएका छन्। शनिवार नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री लेखकले जनधनको क्षति गर्नेलाई कानूनअनुसार अनुसन्धान गरेर कारबाही गर्ने प्रतिबद्धता जनाए।  

राजावादीले तीनकुनेमा शुक्रबार गरेको आन्दोलनमा दुई जनाको मृत्यु भएको छ भने सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड भएको छ। सोही अनुगमन र निरीक्षणका लागि आलोकनगर पुगेका गृहमन्त्री लेखकले राजावादीले प्रदर्शनका नाममा गरेको हिंसा राजनीतिक दर्शन, आदर्श, सिद्धान्त, मान्यता, चेतनासँग कुनै सम्बन्ध नभएको जिकिर गरे।

गृहमन्त्री लेखकले भने, ‘हिजो प्रदर्शनका नाममा जे काम भए, यसको राजनीतिक दर्शन, आदर्श, सिद्धान्त, मान्यता, चेतनासँग कुनै सम्बन्ध छैन। यो धेरै अपराधिक घटना हो। आततायी र अमानवीय तरिकाले घटना गराइएको छ। त्यो पनि फलानो फलानो ठाउँमा आक्रमण गर्ने भनेर घोषणा गरेर ती काम भएका छन्। मानिस घरभित्र छन् भनेर थाहा हुँदाहुँदै आगो लगाइएको छ।’

उनले थपे, ‘एक जना पत्रकारको ज्यान गएको छ। अर्को एक जनाको पनि ज्यान गएको छ। प्रहरीले नागरिकको ज्यानको सुरक्षा गर्न बल प्रयोग गर्नुपर्‍यो। त्यसप्रति मेरो दुःख छ। घाइतेको स्वास्थ्य ठीक होस् भन्ने कामना गर्छु। सरकारले आवश्यक उपचार गर्छ। हिजो जुन बर्बरताले घटना भए, सञ्चारगृहमाथि आक्रमण गर्ने, छानीछानी गणतन्त्रवादी विचार राख्ने राजनीतिक दलका नेताको घर र पार्टी कार्यालयमा आक्रमण गर्ने, निजी र सरकारी सम्पत्ति नष्ट गर्ने, सपिङ कम्प्लेक्समा आक्रमण गर्ने जस्ता आक्रमण भए। त्यसमा कानूनअनुसार अनुसन्धान गरेर कारबाही हुन्छ।’  

गृहमन्त्री लेखकले शुक्रबार राजावादीले सञ्चारगृह, छानीछानी गणतन्त्रवादी विचार राख्ने राजनीतिक दलका नेताको घर र पार्टी कार्यालयमा आक्रमण गर्ने, निजी र सरकारी सम्पत्ति नष्ट गर्ने, सपिङ कम्प्लेक्समा आक्रमण गरेको उनको भनाइ थियो। 

प्रकाशित: १६ चैत्र २०८१ १३:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App