सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले राजीनामा दिएका छन्। यसअघि मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिन निर्देशन दिएका थिए।
मन्त्री चौधरीले प्रदेशको दिगो वन व्यवस्थापन कार्यविधि आफूअनुकूल बनाएर ठूलो आर्थिक लाभ लिन खोजेको छलफलको अडियो सार्वजनिक भएपछि यो कदम चालिएको हो। उक्त अडियो बाहिरिएसँगै चौधरी विवादमा फसेका छन्।
शनिबार पत्रकार सम्मेलन गर्दै राजीनामा घोषणा गरेका मन्त्री चौधरीले आफ्नो गलत नियत नभएको भन्दै आवश्यक छानबिनका लागि तयार भएको उल्लेख गरेका छन्। उनले आफूलाई राजनीतिक षड्यन्त्रको सिकार बनाएको आरोप समेत लगाए।
प्रकाशित: १६ चैत्र २०८१ ११:२७ शनिबार