१९ चैत्र २०८१ मंगलबार
image/svg+xml १२:१३ अपराह्न
राजनीति

हिंसात्मक प्रदर्शनप्रति कांग्रेस: ‘शान्ति र संविधानकै मार्ग अपनाऔं’

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र गगन कुमार थापाले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै राजधानीको तीनकुनेलगायतका क्षेत्रमा भएका हिंसात्मक घटनाको निन्दा गरेका छन्।

कांग्रेसले प्रदर्शनको नाममा व्यक्तिका घर, मिडिया हाउस, पार्टी कार्यालय, सपिङ मल, सरकारी कार्यालय र सर्वसाधारणको सवारी साधनमा भएको तोडफोड तथा आगजनीलाई गम्भीर रूपमा लिएको बताए।

‘लोकतान्त्रिक गणतन्त्रको स्थापना ०६२/०६३ को जनआन्दोलनबाट मात्र भएको होइन। आन्दोलनले प्रतिनिधिसभा पुनर्स्थापना गरेको थियो। त्यसपछि संसदमार्फत अन्तरिम संविधान, संविधानसभाको निर्वाचन र त्यसबाट चुनिएका जनप्रतिनिधिहरूको पहिलो बैठकले देशलाई गणतन्त्रमा लगेको थियो,’ विज्ञप्तिमा उल्लेख छ।

कांग्रेसले नागरिकका असन्तुष्टिहरूलाई संविधानभित्रै रहेर समाधान गर्न सकिने बताउँदै, संविधानको निरन्तरतामा नवीनता ल्याउने प्रतिबद्धता जनाएको छ।

लोकतन्त्रको विकल्प अझ समुन्नत लोकतन्त्र मात्रै हुनसक्ने भन्दै कुनै पनि स्वरूपको राजतन्त्र २१औँ शताब्दीका नेपालीका लागि विकल्प नहुने स्पष्ट पारेको छ।

हिंसात्मक प्रदर्शनका क्रममा ज्यान गुमाउनेप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै कांग्रेसले घाइतेहरूको उपचारमा विशेष ध्यान दिन सरकारसँग माग गरेको छ। साथै, हिंसा भड्काउने तथा सहभागी हुनेहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउन आग्रह गरेको छ।

नेपाली कांग्रेसले सम्पूर्ण नेपाली नागरिकलाई संयम अपनाउन र शान्तिपूर्ण रूपमा लोकतान्त्रिक प्रक्रियाबाट समाधान खोज्न अपिल गरेको छ।

प्रकाशित: १५ चैत्र २०८१ २१:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App