१९ चैत्र २०८१ मंगलबार
image/svg+xml १३:१३ अपराह्न
राजनीति

सरकारले समय रहँदै सर्वपक्षीय वार्ता गरोस्, नत्र प्रदर्शन अझ सशक्त हुनेछः महामन्त्री राणा

राप्रपा महामन्त्री डा. धवल शम्शेर राणाले राजसंस्था पुनर्स्थापनाको माग गर्दै तिनकुने, काठमाडौंमा भएको शान्तिपूर्ण प्रदर्शनमा सुरक्षाकर्मीले बल प्रयोग गरेको घटनाले तनाव बढाएको आरोप लगाएका छन्।

राप्रपा महामन्त्री एवम् संयुक्त जन-आन्दोलन परिचालन समिति संयोजक राणाले प्रदर्शनमा अश्रुग्यास, लाठीचार्ज र गोली प्रहार जस्ता दमनकारी कदमको निन्दा गर्दै जनधनको क्षतिको जिम्मेवारी सरकार र गृह प्रशासनले लिनुपर्ने बताएका छन्। 

उनले भनेका छन्, ‘आज राजसंस्था पुनर्स्थापनाको माग गर्दै तिनकुने, काठमाडौंमा भएको नागरिकहरूको शान्तिपूर्ण प्रदर्शनमा सुरक्षाकर्मीहरूले बल प्रयोग गरी शान्तिपूर्ण प्रदर्शनमा भएको दमन, अश्रुग्यास प्रहार, लाठीचार्ज जस्ता घटनाहरू गम्भीर विषय हुन्। आन्दोलनका क्रममा हुन आउने जनधनको क्षतिको जिम्मेवारी गृह प्रशासन र सरकारले लिनुपर्छ।’

उनले सरकारको दमनकारी रणनीति नेपाली जनताले असफल पार्ने चेतावनी दिँदै सर्वपक्षीय वार्ताको माग गरेका छन्। ‘प्रदर्शनमा बल प्रयोग गरी आन्दोलनलाई रोक्ने सरकारको रणनीति नेपाली जन-समर्थनले विफल पार्नेछ। सरकारले समय रहँदै सर्वपक्षीय वार्तामा नआए अझ सशक्त प्रदर्शन, विरोध कार्यक्रम र संगठित रूपमा अन्य क्षेत्रहरूमा आन्दोलन विस्तार गरिनेछ,’ उनले थपे।

प्रदर्शनका क्रममा प्रहरीको गोली लागी किर्तिपुरका २९ वर्षीय सविन महर्जनको टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। महामन्त्री राणाले मृतक सविन महर्जनको परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन्।

प्रकाशित: १५ चैत्र २०८१ २०:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App