सरकारले तीनकुनेमा भएको राजावादीहरुको प्रदर्शन हिंसात्मक हुनुमा संयोजक दुर्गा प्रसाईं नै मुख्य दोषी भएको आरोप लगाएको छ ।
शान्तिपूर्ण अवस्थामा रहेको प्रदर्शनपछि प्रसाईंले चलाएको गाडी सुरक्षाकर्मीको घेरा तोड्दै अगाडि बढेपछि स्थिति बिग्रिएको र हिंसात्मक रुप लिएको गृह मन्त्रालयको भनाइ छ । प्रसाईं निस्किएपछि प्रहरीसँग झडप भएको, आगजनी तथा तोडफोडका घटना भएको, प्रदर्शनकारीले दर्जन बढी गाडीमा आगजनी गरेको, पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको, संचार गृहमा आगजनी तथा तोडफोडको प्रयास भएको गृहको भनाइ छ ।
आजको घटनाप्रति प्रसाईं पूर्णरुपमा जिम्मेवार रहेको र क्षतिको जिम्मेवारी पनि उनले नै लिनु पर्ने बताउँदै गृहले प्रसाईंसहित दोषी सबैलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
राजसंस्था पुनःस्थापनाको माग गर्दै भएको प्रदर्शन हिंसात्मक हुन्छ भन्ने अनुमान नगरेको भन्दै गृहले अनुमानभन्दा फरक र अराजक भएकाले स्थिति तनावपूर्ण बन्न पुगेको बताएको छ।
गृहका अनुसार, सुरक्षाकर्मीतर्फ १५ र प्रदर्शनकारीतर्फ १५ जना गरी ३० जना घाइते भएको जनाएको छ ।
प्रकाशित: १५ चैत्र २०८१ १८:२० शुक्रबार