संसद् अवरोध खुलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को १८ गतेको बैठकमा सम्बोधन गर्ने भएका छन्। शुक्रबार सभामुख देवराज घिमिरेसहित बसेको पमुख प्रतिपक्ष, प्रतिपक्षी दल र सत्तापक्षीय दलका प्रमुख सचेतकहरू बीचको छलफलबाट यो सहमति जुटेको हो।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको थियो। कुलमानको बर्खास्तीपछि प्रतिपक्ष दलहरूले सदनमा अवरोध सिर्जना गर्दै संसद् अवरुद्ध गर्दै आएका छन्।
उनीहरूले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले चित्तबुझ्दो जवाफ दिएपछि मात्रै सदनको अवरोध हटाउने बताएका छन् । सरकार पक्षले भने सम्बन्धित मन्त्री र उपप्रधानमन्त्रीले सरकारको तर्फबाट उक्त विषयमा जवाफ दिने प्रस्ताव गरेको थियो।
तर प्रतिपक्ष दलहरूले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै संसद् अवरुद्ध पार्दै आएका छन् । बैठकपछि सञ्चारकर्मीहरूसँगको कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बैठकमा १८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने र आइतबार बस्ने बैठक सहज रुपमा अघि बढ्ने सहमति भएको जानकारी दिए।
बर्तौलाले भने, ‘आज हामीले एउटा निर्णय गरेका छौँ । सम्माननीय प्रधानमन्त्रीज्यूले मेजर अपोजिसनले माग गर्नुभयो । एउटा विषय त्यो पनि रह्यो । सँगै अन्य कतिपय विषयहरूमा पनि सम्बोधन गर्नुपर्ने आवश्यकता छ। प्रमुख प्रतिपक्षले उठाएका विषयवस्तुलाई पनि ख्याल पुर्याएर सम्माननीय प्रधानमन्त्रीज्यूले आगामी १८ गतेको बैठकमा संसद्को आगामी १८ गतेको बैठकमा सम्बोधन गर्ने भन्ने भएको छ । यो विषय राख्यौँ, सत्तापक्षको तर्फबाट। प्रधानमन्त्रीले बोल्ने विषय १८ गते बोल्नुहुन्छ।’
उनले थपे, ‘आजबाट हाउस अघि बढाऔँ भनेर प्रमुख प्रतिपक्षलाई आग्रह गर्यौँ । राष्ट्रिय सभामा रहेका ५ वटा प्रतिस्थापन विधेयक १७ गते बेलुकासम्म निष्कर्षमा पुर्याउनुपर्नेछ। यि सबै कुरा आग्रह गर्यौँ । उहाँहरूको माग बमोजिम अघि बढ्ने भन्दा पनि आजको हाउस चलाउने र सहज ढंगले अघि बढ्ने कुरामा सकारात्मक परिस्थिति भएन।’
सरकारले ल्याएका प्रतिस्थापन विधेयकहरू १७ गते रातिसम्म प्रक्रिया पूरा गरेर अघि बढाउनुपर्ने भएपनि प्रतिपक्ष दलहरूको अवरोधका कारण अहिलेसम्मअड्किएको बताउनु भयो ।
प्रकाशित: १५ चैत्र २०८१ १५:०७ शुक्रबार