नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजा महाराजाबाट देश विकास हुन्छ भन्ने कल्पनै गर्न नहुने बताएका छन् । पार्टीको प्रदेश समितिद्वारा बिहीबार गाईघाटमा आयोजित ‘अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम’ उद्घाटन गर्दै सिटौलाले सो कुरा बताएका हुन् ।
सिटौलाले विश्वका कुनै पनि देशका राजा महाराजाले विकास गरेको अहिलेसम्म थाहा नभएको बताए । राजतन्त्रबाट देश विकास हुन्छ भन्ने कल्पना कसैले नगर्न सुझाउँदै नेता सिटौलाले भने नेपालमा कांग्रेसकै सहयोगमा २ सय ४० वर्षसम्म राजतन्त्र टिकेको बताए ।
नेपालमा विकासको खाका कोर्ने र काम राजा महाराजाले नभई कांग्रेसले गरेको पनि उनले दाबी गरे । पूर्व–पश्चिम लोकमार्ग, भूमिसुधार कार्यक्रम, वन जङ्गल राष्ट्रियकरण जस्ता विकासका कार्यक्रमको रूपरेखा कोर्ने काम बिपी प्रधानमन्त्री हुँदै भएको सिटौलाको भनाई थियो । तर, त्यस्ता नेतालाई जेल हालेर महेन्द्रले सो कामको सुरुवात गरेर यश लिने काम गरेको उनले बताए ।
नेता सिटौलाले नेपालमा राजतन्त्र कांग्रेसले नै टिकाएको दाबी पनि गरे । नेपालबाट भागेर भारत पुगेका तत्कालीन राजा त्रिभुवनलाई ००७ सालमा कांग्रेसले फर्काएर जय नेपाल भन्न सिकाउँदै राजतन्त्र बँचाएको सिटौलाले स्मरण गराए । ‘राजा त्रिभुवन नेपालमा राणा विरोधी आन्दोलन उत्कर्षमा पुगेका बेला देश छाडेर भारत भागेका थिए’ सिटौलाले इतिहास सुनाए ‘बिपीले उनलाई फर्काएर नेपालमा राजतन्त्र टिकाएका हुन्, नत्र त्यति बेलै सकिन्थ्यो ।’
प्रकाशित: ७ चैत्र २०८१ १८:१२ बिहीबार