नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा राजावादी शक्तिको प्रदर्शन र पूर्व राजा ज्ञानेन्द्र शाहको सक्रियताबारे छलफल भएको छ। मङ्गलवार साँझ पार्टी सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा भएको बैठकमा यो विषयमा छलफल भएको हो।
बैठकपछि बोल्दै पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले यस विषयमा छलफल भएको पुष्टि गरे। ‘अवश्य पनि यसमा सामान्य समीक्षा भयो नै,’ पत्रकारको जिज्ञासामा प्रवक्ता महतले भने, ‘हामीले जुन संविधान निर्माण गरेका छौँ त्यो नेपाली जनताले नै निर्माण गरेको हो। निर्वाचित ९० प्रतिशत प्रतिनिधिले निर्माण गरेको हो। जनताले बनाइको संविधानबाट सरकार सञ्चालित छ। यस कारण उपलब्धिको रक्षा गर्ने कुरामा कांग्रेस दृढ छ।’
यस विषयमा थप समीक्षा गर्न र कांग्रेसले लिने रणनीतिबाट आवश्यक निर्णय गर्न पार्टीको औपचारिक फोरम कार्यसम्पादन समितिको बैठक डाँकिएको उनले बताए। उक्त बैठक चैत १० गते बस्ने तय भएको पनि प्रवक्ता महतले जानकारी दिए। जसमा संविधानको रक्षाका लागि क्रियाशील हुने कुरामा कांग्रेस प्रतिबद्ध रहेको उनले सुनाए।
तर, कांग्रेस संविधानको रक्षाका निम्ति सडकमा जाने कुरामा भने तत्काल तयार नरहेको पनि प्रवक्ता महतले सुनाए। उनले भने, ‘अहिले हामी नै प्रदर्शनमा सहभागी हुने कुरा गरेका छैनौँ।’ तर समाजवादी मोर्चाले चैत १५ गतेको लागि आह्वान गरेको प्रदर्शन भने ठिक रहेको उनले बताए। ‘तर, हामी भोलिको दिनमा कसरी प्रस्तुत हुने भन्ने विषय कार्यसम्पादन समितिमा चर्चा हुने नै छ,’ उनले भने।
यस्तै पछिल्लो समय चर्चामा रहेको सर्वदलीय सरकार निर्माणबारे भने पदाधिकारी बैठकमा छलफल नै नभएको प्रवक्ता महतले बताए। ‘सर्वदलीय सरकार बनाउने विषयमा कुनै चर्चा भएको छैन, छलफल भएको छैन। त्यस्तो कुरा उठेको छैन,’ उनले भने, ‘अहिले विपक्षमा रहेको दल जस्तो नेकपा माओवादी केन्द्रलगायत दल पनि अहिलेकै संविधान रक्षाको पक्षमा छन्। जुन गणतान्त्रिक व्यवस्था यो संविधानले सुनिश्चित गरेको छ। त्यस कारण सरकारमा आएपछि यो पक्ष बलियो हुने, संविधान पक्षधर शक्ति बलियो हुने र नआउँदा कमजोर हुने भन्ने छैन।’
प्रकाशित: ५ चैत्र २०८१ १८:४० मंगलबार