आइतबार प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद राजन दाहालले संसद् भवन बाहिर नयाँ सरकार गठनबारे छलफल सुरु भएको बताए। गणतन्त्रवादी दलहरूको सहभागितामा 'राष्ट्रिय सरकार'बन्ने उनको सङ्केत थियो।
त्यसो त राजा र राजावादी शक्तिहरू सक्रिय भइरहेको बेलामा गणतन्त्रवादी दलहरू एक ठाउँ उभिएका त्यसको मुकाबिला गरिरहेका छन्। यसैका बीच ती सबै दलहरूको सहभागितामा राष्ट्रिय सरकार बन्ने चर्चा चलेको छ।
यसका लागि मुख्यत: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायत केही दोस्रो तहका नेताहरूले गृहकार्य गरिरहेको बताइन्छ।
यद्यपि, माओवादी केन्द्रका अध्यक्ष दाहालको सचिवालयले भने त्यसको खण्डन गरेको छ। दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले भनेका छन्, 'सरकारमा जानेबारे वा अन्य विषयमा सरकारमा रहेका पार्टीका प्रमुखसहित कुनै पनि नेतासँग अध्यक्ष प्रचण्डको कुराकानी भएको छैन। अहिले माओवादीको सरकारमा जाने नीति छैन।'
तर, माओवादी केन्द्रका एक नेता भने राष्ट्रिय सरकार बने त्यो मुलुक र व्यवस्था रक्षाको दृष्टिकोणले राम्रो हुने तर्क गर्दै पार्टी अध्यक्ष दाहालले कतिपय नेताहरूसँग कुराकानी गरेको बताउँछन्।
'राजा र राजावादीहरू सल्बलाएका छन्। यसबेला गणतन्त्र पक्षधर दल तथा नेताहरूका बीचमा छलफल हुनुपर्छ, त्यो स्वाभाविक हो। त्यसमा के-के गर्न सकिन्छ भन्ने कुरा पनि भइहाल्छ। त्यसमा राष्ट्रिय सरकार बन्यो भने उनीहरू चुप लाग्छन् भन्ने पनि हो। त्यसमा हाम्रो पार्टी अध्यक्षले ओली र देउवा दुबैसँग कुराकानी गर्नुभएको हो,' उनले भने।
माओवादी केन्द्रका महासचिव देव गुरुङ भने राष्ट्रिय सरकारका लागि कुनै दल तयारी नरहेको बताउँछन्। अरु दल तयार भए माओवादी तयार हो भन्ने नागरिकको जिज्ञासामा उनले भने, 'सातबुँदे सहमति गरेर बहुदलीयतालाई त अस्वीकार गरेर दुईदलीय सर्वसत्तावादको भूत सवार भइरहेको बेलामा राष्ट्रिय सरकार असम्भव छ।'
उनले प्रतिपक्षविहीन संसद्को परिकल्पना गर्न नसकिने पनि बताए। 'प्रतिपक्ष बिनाको संसद्को परिकल्पना गर्नु हुँदैन। हामी त्यसका लागि तयार छैनौँ। सरकारमा जान चाहने अरु दलहरूलाई थाहा होला। हामीलाई थाहा हुने कुरा भएन, 'महासचिव गुरुङले भने।
अनि माओवादी नेताहरूले नै राष्ट्रिय सहमतिको सरकार बन्दैछ भन्ने कोणबाट चर्चा गर्नुभएको छ नि भन्ने प्रसङ्गमा उनले भने, 'त्यस्तो छैन। हामी सरकारमा नजानेबारे पटकपटक कुरा बाहिर आएकै छ। अहिलेका लागि सरकारमा जाने कुरा छैन।'
प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका नेताहरू भने माओवादीले नियोजित रूपमा राष्ट्रिय सरकारको हल्ला चलाएको बताउँछन्। कांग्रेसका एक नेताले भने, 'माओवादी साथीहरूले यो कुरा नियोजित रूपमा लचाएका हुन्। प्रचण्डले नै यस्तो हल्ला चलाएका हुन्।'
पार्टी सभापति देउवाले अन्य पार्टीका नेताहरूसँग संवाद गर्ने गरे पनि कुनै पनि नेतासँग राष्ट्रिय सरकार बनाउनेबारे कुराकानी नगरेको भनाइ कांग्रेस नेता मीन विश्वकर्माको छ। 'बजारमा चर्चाहरू चल्छन्, सबै सत्य हुँदैनन्। अहिले पनि राष्ट्रिय सरकारको हल्ला रहेछ, यो सत्य होइन। कांग्रेस पार्टी सरकार चलाउने सन्दर्भको समझदारीमा अडिग छ,' नेता विश्वकर्माले भने।
त्यसो त भूराजनीतिक रूपमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको यो सरकार बढी उता नजाने विश्लेषणहरू भइरहेका छन्। भारतले ओलीलाई प्रधानमन्त्रीबाट हटाउन खोजिरहेको तर, भारतको त्यो दबाब प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति देउवाले थेगिरहेको बताइन्छ।
यस्तो अवस्थामा राष्ट्रिय सरकार बनेको खण्डमा भारत पनि चुप लाग्न सक्ने बुझाइ कांग्रेसका कतिपय दोस्रो तहका नेताहरूको पनि छ।
यी यावत् पृष्ठभूमिमा सत्तारूढ दल नेकपा (एमाले) भने धेरै मुखर छैन। सोमबार (आज) प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा एमाले सचिवालय बैठक जारी छ। बैठकमा वर्तमान राष्ट्रिय राजनीति, भूराजनीतिकसँगै अन्य विषयमा पनि समीक्षा र छलफल हुने बताइएको छ।
प्रकाशित: ४ चैत्र २०८१ १६:२८ सोमबार