११ चैत्र २०८१ सोमबार
image/svg+xml
राजनीति

नारद आदर्श क्याम्पसमा मनोनयन दर्ता, त्रियुगा र बरुवामा अनिश्चित

आगामी चैत ४ गते हुने स्ववियु निर्वाचन त्रियुगा जनता बहुमुखी क्याम्पस मोतीगडा गाईघाटमा नहुने भएको छ। उम्मेदवारी दर्ता गर्ने अन्तिम दिन मंगलबारसम्म कुनै संगठनले मनोनयन नगरेपछि निर्वाचन अनिश्चित भएको हो। क्याम्पस प्रमुख डा. कैलाशकुमार राईका अनुसार मनोनयन पत्र दर्ता नै नभएपछि स्ववियु निर्वाचन अनिश्चित भएको हो। उनका अनुसार केही विद्यार्थी संगठनले आचारसंहिता उल्लंघन गरेकाले यस्तो समस्या आएको हो।

स्ववियु निर्वाचन समिति क्याम्पस एकाइले निर्धारित समयमा मतदाता नामावली टुंगो नलाग्दा विद्यार्थी संगठनबिच विवाद भएर स्ववियु निर्वाचन प्रभावित भएको जनाएको छ। विवाद भएपछि नेपाली कांग्रेसनिकट नेविसं) र नेकपा (एस) निकट एकीकृत समाजवादी विद्यार्थी संगठनले निर्वाचन समितिमा तालाबन्दी गरेका थिए। तालाबन्दी भएकाले पनि निर्धारित समयमा मनोनयन पत्र दर्ता हुन नसकेको एकाइले बताएको छ।

नेविसंले मतदाता नामावली सच्याउन आग्रह गरेकोमा सहमति नजुटेको बताइएको छ। सामाजवादी संगठन पनि आफ्नो रायअनुसार नभएको भन्दै टेढिएको थियो। विवाद सुल्झाउन मंगलबार क्याम्पस प्रशासनले सबै विद्यार्थी संगठनका प्रतिनिधि राखेर सामुहिक छलफल गर्दा पनि निश्कर्ष ननिस्किएपछि निर्वाचन अन्योलमा परेको हो।

निर्वाचन समितिले २१ गते प्रकाशन गरेको मतदाता नामावलीमा एक हजार पाँच सय तीन मतदातामध्ये २३ जनाको कागजात नपुगेको पाइएपछि नेविसंघले विरोध जनाउँदै तालाबन्दी गरेको हो। ताला खोल्न र निर्वाचनको वातावरण बनाउन क्याम्पस प्रशासनले पटकपटक सबै संगठनलाई बोलाएर वार्ता गराए पनि निश्कर्ष आउन सकेको छैन।

यता सदरमुकामकै बरुवा क्याम्पस गाईघाटमा पनि मतदाता नामावलीकै विषयलाई लिएर भएको विवादका कारण स्ववियु निर्वाचन अनिश्चित भएको छ। नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) ले मतदाता नामावलीप्रति असहमति जनाएपछि भएको विवाद समाधान नभएका कारण बरुवाको स्ववियु निर्वाचन पनि अनिश्चित हुन पुगेको क्याम्पस प्रमुख भीमबहादुर खड्काले बताए।

उता चौदण्डीगढी नगरपालिका वडा नं ४ स्थित नारद आदर्श क्याम्पस बसाहामा भने निर्वाचनी प्रक्रिया अघि बढेको छ। निर्धारित समयभित्रै उम्मेदवारी मनोनयन भएपछि त्यहाँ तोकिएकै मिति चैत ४ गते निर्वाचन हुने निश्चित भएको क्याम्पसका पूर्व स्ववियु सभापति दिनेश राईले बताए। उनका अनुसार बसाहामा विभिन्न संगठनबीच गठबन्धन गरेर निर्वाचन लड्ने गरी मनोनयन दर्ता भएको छ।

नेविसंघ, अखिल क्रान्तिकारी र अशोक राई नेतृत्वको जसपानिकट समाजवादी विद्यार्थी युनियनबिच गठबन्धन प्यानल बनेको छ भने एमालेनिकट अखिल एक्लै निर्वाचन लड्ने गरी मनोनयन दर्ता भएको छ। जिल्लाका अन्य चार क्याम्पसहरू कटारी, बेलका, चौदण्डीगढीकै बेलटार र रौतामाईका क्याम्पसमा भने स्ववियु अस्तित्वमा आइसकेको छैन। त्रिवेणी क्याम्पस कटारी, बेलका क्याम्पस रामपुर, जनज्योति क्याम्पस बेलटार र रौता क्याम्पस मुर्कुचीमा पनि स्ववियु गठन भएको छैन।

प्रकाशित: २९ फाल्गुन २०८१ ०९:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App